उम्मेदवार बन्न पार्टी परिवर्तन
नेपालगञ्ज – स्थानीय तहको आसन्न चुनावमा उम्मेदवार बन्नका लागि पार्टी परिवर्तन गर्नेको लहर चलेको छ ।
एउटा पार्टीबाट उम्मेदवार भन्दै प्रचार गरिएकाहरु त्यहाँबाट टिकट नपाउने भएपछि अर्को पार्टी जाने गरेको पाइएको
छ ।
पछिल्लो २४ घण्टामा फरक–फरक पार्टीबाट नेपालगञ्ज उपमहानगरपालिकाको मेयर र उपमेयर दावी गरिरहेकाहरुले पार्टी परिवर्तन गरेका छन् ।
नेपालगञ्जको मेयरमा माओवादी केन्द्रबाट चुनाव लड्ने तयारीसँगै पार्टीको सिफारिसमा समेत परेका नन्दलाल बैश्य राप्रपातिर लागेका छन् । गठबन्धनले भागबण्डा गर्दा नेपालगञ्ज उपमहानगरपालिकामा माओवादीको भाग नपरेर उम्मेदवार हुन नपाउने भएपछि बैश्य राप्रपातिर लागेका छन् । राप्रपाबाट उनी मेयरका उम्मेदवार तोकिएका छन् । मेयरको उम्मेदवार बनाउने शर्तमा नै बैश्य राप्रपामा प्रवेश गरेका हुन् ।
राप्रपाका महामन्त्री एवं नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले बैश्यलाई मेयरको उम्मेदवार बनाउने प्रतिबद्धता गरेपछि बैश्य राप्रपामा लागेका छन् । राप्रपाले बैश्यलाई मेयर र विन्दु चर्तिमगरलाई उपमेयर लडाउने आन्तरिक घोषणा गरिसकेको छ ।
उम्मेदवारी मनोनयन गर्ने दुई दिनअघि जनता समाजवादी पार्टी (जसपा)बाट नेपालगञ्जको उपमेयरमा प्रचार गरिएकी रमारानी बैश्य राप्रपा नेपालतिर लागेकी छन् । २०७४ सालको चुनावमा राप्रपाबाट नेपालगञ्जको उपमेयरकी उम्मेदवार रमामानी कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालबाट नेपालगञ्जको उपमेयरमा लड्ने तयारीमा छन् ।
सत्ता साझेदार दलका बीचमा भएको गठबन्धनमा नेपालगञ्जको मेयरमा कांग्रेस र उपमेयरमा जसपालाई दिने निर्णय गरेसँगै जसपाबाट मेयरका दावी गरेका कमरुद्दिन राई उपमेयर लड्ने भएपछि रमारानी राप्रपा नेपालतिर लागेकी हुन् । राप्रपा नेपालका जिल्ला अध्यक्ष दिपेन्द्रबहादुर सिंहले रमारानीलाई पार्टीले उचित सम्मान गर्ने बताउनुभयो । नेकपा एमालेसँग केन्द्रमा गठबन्धन गरेको राप्रपा नेपालले नेपालगञ्जमा उपमेयर पाउने संभावना कम रहेको छ । राप्रपा नेपालले एमालेसँग उपमेयरमा पाएमा रमारानीलाई उठाउने तयारी गरेको छ ।
उम्मेदवारी घोषणको दिन नजिकिदै गर्दा उम्मेदवारका आकांक्षीहरु यो वा त्यो पार्टीतिर लागेका छन् ।