भन्सार छिचोलेर आएको चिनी वीपीचोकमा पक्राउ
नेपालगञ्ज – भारतबाट भन्सार र आधा दर्जन सुरक्षा जाँचलाई छिचोलेर ल्याइएको ठूलो परिमाणको चिनी वीपीचोकमा बरामद भएको छ ।
सार्वजनिक यातायातका साधनमा ल्याइएका बोराका बोरा चिनी वीपीचोकमा खटिएको वडा प्रहरी कार्यालय, नेपालगञ्जको प्रहरीले बरामद गरिरहेको छ । दैनिक नै चिनी बरामद भइरहेको छ ।
वडा प्रहरी कार्यालयका अनुसार, भन्सार छलेर ल्याएको २४ बोरा चिनी र चार बोरा सूर्ती बरामद भएको छ ।
वीपीचोकमा डिउटी बस्ने प्रहरीले भन्सारदेखि कोहलपुर जाने माइक्रोबस र सनराइन (सानो गाडी) लाई जाँच गर्दा अवैध सामान बरामद भइरहेको हो ।
भारतबाट भन्सार छलेको सामान वीपीचोकसम्म कसरी आइपुग्छ ? दशगजामा जोडिएको जमुनाहामा नेपाल, सशस्त्र प्रहरी र भन्सारको जाँच हुन्छ । त्यसयता ठूलो भन्सारमा प्रहरी र भन्सार कर्मचारीले जाँच गर्छन् । जयसपुरमा सीमा प्रहरीले जाँच गर्छ । चौलिक्कामा सशस्त्र प्रहरीले जाँच गर्छ । ट्राफिक चोकमा पनि छड्के जाँच हुन्छ । यत्तिधेरै ब्यारेल छिचोलेर वीपीचोकसम्म अवैध सामान आइपुग्नुले सबै ठाउँका जाँचमा शंका उत्पन्न गरेको छ ।