पर्यटक लोभ्याउदै ‘कान्ति ताल’

नेपालगञ्ज – नेपालगञ्जको कान्ति ताललाई पर्यटकीय स्थलको रुपमा विकास गरिएको छ । वर्षौदेखि बेवारिसे अवस्थामा रहेको ताललाई नेपालगञ्ज उपमहानगरपालिकाले पर्यटकीय स्थलको रुपमा विकास गर्दै अघि बढेपछि कान्ति तालको मुहार नै फेरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको २१ र २२ नम्बर वडामा पर्ने कान्ति ताललाई साढे दश करोड लगाएर ‘हराभरा’ गराइएको छ ।

उपहानगरपालिकाका इन्जिनियर सुरज शर्माले कान्ति तालमा गेट, सात मिटरको बाटो, पक्की नाला, पार्किङ एरिया, रेलिङ, वृक्षारोपण गरिएको बताउनुभयो । ‘दुरगामी सोचका साथ कान्ति तालको विकास गरिदैछ, शर्माले भन्नुभयो, राम्रो मानव बस्तीको कल्पना गरिएको छ । पर्यटकका लागि आकर्षित ठाउँ बनाइदैछ ।’

कान्ति ताल २५ विगाहमा फैलिएको छ । बाहिरी संरचनालाई राम्रो बनाउनुका साथै तालमा बोटिङको प्रवन्ध गरिदैछ । नेपालगञ्ज उपमहानगरपालिकाले बाहिरी या आन्तरिक पर्यटकका लागि कान्ति ताललाई हेर्न लायक बनाउने रणनीति अनुसार काम गरिरहेको छ । उपमहानगरपालिकाले यो वर्ष ३० लाख रुपैयाको काम गरेको छ । ताल सञ्चालनका लागि ठेक्का दिइसकिएको छ । इन्जिनियर शर्माका अनुसार, २२ लाखमा तालको ठेक्का लागेको छ ।

बेवारिसे अवस्थामा रहेको तालको संरक्षण र पर्यटकस्थल बन्न थालेपछि आसपासका बासिन्दा खुशी भएका छन् । तालको छेउछाउको जग्गाको मूल्य आकाशिएको छ । स्थानीय पप्पु पासीले ताललाई पर्यटकीय गन्तब्य बनाउन थालिएपछि आफूहरु धेरै खुशी भएको बताउनुभयो । ‘भैसी आल खेल्ने ठाउँको रुपमा परिणत भएको थियो । केही वर्षयता उपमहानगरपालिकाले लगातार काम गरेर सौन्दर्यकरण गरिरहेको छ, पासीले भन्नुभयो, अहिले नै साँझ र विहान मान्छेको भीड लाग्ने भइसकेको छ । तालमा बोटिङको व्यवस्था भयो भने त मान्छेको लाइन नै लाग्छ ।’

ताल वरिपरि बाटो बनाइएको छ । २५ विगाहको ताललाई घेरेर बाटो बाटो, नाली, वृक्षारोपण गरिएपछि अहिले विहान र बेलुका वाकिङ गर्नेको भीड लाग्ने गरेको छ । प्राकृतिक सौन्दर्यको मजा लिदै शहरका विभिन्न ठाउँबाट तालमा एरियामा पुग्ने गरेका छन् । टिकटक र फोटो खिचाउनेहरु प्रशस्त भेटिन्छन् ।

पुराना ताल तलाउको संरक्षण र त्यसलाई पर्यटकीय स्थल बनाउने उपमहानगरपालिको योजना रहेको छ । नेपालगञ्जको वडा नं. १ मा रहेको वाटरपार्कलाई पनि पर्यटकीय गन्तब्यको रुपमा विकास भइरहेको छ । आजकै दिनमा नेपालगञ्जमा बाह्य पर्यटकमा आएमा देखाउने ठाउँ भनेको बागेश्वरी मन्दिर, महेन्द्रपार्क र व्यक्तिगत रुपमा खोलिएका फनपार्कहरु रहेका छन् । कान्ति ताल र वाटरपार्कको निर्माण सम्पन्न भएमा नेपालगञ्ज आउने पर्यटकको केही दिनको बसाई रमणीय हुने विश्वास गरिएको छ ।

नेपालगञ्जमा पश्चिम नेपालको पर्यटकीय स्थलको भ्रमण गर्न आउने पर्यटकको लागि प्रवेशद्वार मानिन्छ । यहाँबाट नेपाल भित्रिएका पर्यटकलाई एक-दुई दिन नेपालगञ्जमै बास बसाउनका लागि कान्ति ताल, वाटरपार्कको सौन्दर्यकरण आवश्यक रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !