संघको निर्वाचन : ९५ प्रतिशत मत खस्यो

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको शनिबार भएको निर्वाचनमा ९५.७० प्रतिशत मत खसेको छ । प्रमुख निर्वाचन अधिकृत टीकाजंग सिंहका अनुसार, तीन हजार ५० जना मतदाता रहेकोमा दुई हजार नौ सय १९ मत खसेको हो । यसमा एशोसियट र बस्तुगतको एक सय २९ मत रहेको छ ।
विहान नौदेखि पाँच बजेसम्म मतदान भएको थियो । मतगणना भने आइतबार विहानदेखि हुने प्रमुख निर्वाचन अधिकृत सिंहले जानकारी दिनुभयो ।


संघको निर्वाचनमा दुई वटा प्यानलले प्रतिस्पर्धा गरेको छ । समावेशी प्यानलको अब्दुल वाहिद मन्सुरी र साझा लोकतान्त्रिक उद्योगी व्यवसायी समूहको नेतृत्व ललित रौनियारले गर्नु भएको छ । निर्वाचनमा अत्याधिक मत खस्दा अध्यक्षका दुवै उम्मेदवार खुशी भएका छन् ।
समावेशीबाट अध्यक्ष उम्मेदवार मन्सुरीले राम्रो मत खसेको र आफूले जित्ने निश्चित भएको प्रतिक्रिया दिनुभयो । साझा लोकतान्त्रिकका अध्यक्षका उम्मेदवार रौनियारले चुनाव अति नै राम्रो भएकाले आफूले जित्ने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !