वडा क्रिकेटमा ५ र ७ नम्बर विजयी
नेपालगञ्ज – नेपालगञ्जमा शुरु भएको दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगितामा ५ र ७ नम्बर वडाले विजयी शुरुवात गरेका छन् ।
शनिबार मंगल प्रसाद उच्च माविको मैदानमा भएको खेलमा ५ नम्बर वडाले १० नम्बर वडालाई ७४ र ७ नम्बर वडाले ११ नम्बरलाई ७ रनले पराजित गरेका हुन् ।
टस जितेर ब्याटिङ गरेको ५ नम्बर वडाले १९.५ ओभरमा १ सय ६३ रन जोडेको थियो । ५ नम्बर वडाका लागि कप्तान सुबेन्दु पाण्डेले अर्धसतक प्रहार गरेका थिए । उनले ३५ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै खेलको म्यान अफ द म्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको पुरस्कार समेत जिते । टोलीका अर्का खेलाडी सद्दाम हुसेन खानले ३० रन र आजिव अली खानले २० रन बनाए । सद्दामले २२ बलमा ५ चौका र वाजिदले २३ बलमा २ चौका प्रहार गरे ।
१० नम्बर वडाका कप्तान विजय चौधरीले ४ विकेट लिएका थिए । उनले ३.५ ओभर वलिङ गर्दा १५ रन खर्चेका थिए । सुबेन्दु पाण्डेलाई आउट गरेका चौधरीले क्याच अफ द मुभमेन्टको पुरस्कार जिते । यसैगरी शेरबहादुर ओलीले ४ ओभरमा १८ रन दिएर २ विकेट लिए ।
१ सय ७४ रनको लक्ष्य लिएर आएको १० नम्बर वडाले पुरा ओभर खेलेर ९ विकेटको नोक्सानीमा ८९ रनमात्र बनाउन सक्यो । टोलीका लागि शेरबहादुर ओलीले १४ रन र मनोज यादवले १२ रन जोडे ।
५ नम्बर वडाका भेट्रान वलर मेराज अहमद अन्सारी ‘ए’ ले ३ विकेट, अनिमेश जंग शाह र मोहम्मद हुसेन खानले समान २ विकेट लिए । जित पछि कप्तान सुबेन्दुले गत वर्ष प्रतियोगितामा भोगेको पहिलो हारलाई बिर्सन जितले सहयोग गर्ने बताए । उनले भने, गतवर्ष हामी पहिलो खेलमै हारेको थियौं । यस वर्ष टिमले मेहनत गरेको छ । ब्याटिङ राम्रो भयो । स्कोर राम्रो बनाएपछि हामीलाई जित्न सहज भयो ।’
अर्को खेलमा टस जितेर ब्याटिङ गरेको वडा नम्बर ७ ले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३६ रन जोडेको थियो । टोलीका लागि मकबुल राइले ३६ रन र नितेश नेपालीले २० रन बनाए । ११ नम्बरका शरद चौवेले ३ विकेट विकेट लिए ।
त्यसको जवाफमा ११ नम्बरले २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय २९ रन मात्र बनाउन सक्यो ।
११ नम्बर वडाका यसर्थ बैश्यले सर्वाधिक ३६ रन, ज्याक्की नवाबले २९ र मुबारक अली सिद्धिकीले १६ रन जोडेका थिए । ७ नम्बर वडाका मकबुल राइ र कलिम राइले २–२ विकेट लिए । खेलमा मकबुल राइ म्यान अफ द म्याच र कलिम राइले मुभमेन्ट अफ द म्याचको पुरस्कार पाए ।
शनिबार विजयी खेलाडीलाई ५ नम्बर वडा अध्यक्ष कैफुलवरा जोलाह ६ अध्यक्ष समिर प्रताव सिह र बेन्ली बाइकका प्रोप्राइटर सौरभ कर्माचार्यले पुरस्कार वितरण गरे ।
गु्रप अफ सिस्टिन क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडाका टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।