हात्तीपाइले रोगविरुद्धको औषधीको कभरेज बढाउन अन्तरक्रिया

नेपालगञ्ज – स्वास्थ्य कार्यालय, बाँकेले सबैलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउनका लागि विभिन्न व्यक्तित्वसँग अन्तरक्रिया गरेको छ ।
फाल्गुन २८ गतेदेखि बाँकेलगायतका दश जिल्लामा औषधी खुवाइदैछ । बाँकेवासीले सन् २०११ देखि हात्तीपाइले रोगविरुद्धको औषधी खाइरहेका छन् । सबैले औषधी नखाइदिंदा १२ औं चरणमा आइपुग्दासम्म बाँकेमा हात्तीपाइले रोगविरुद्धको अभियान सफल हुन सकेको छैन ।
यसपाली सबैलाई औषधी खुवाउन स्वास्थ्य कार्यालयले विभिन्न व्यक्तित्वहरुसँग अन्तरक्रिया गरिरहेको हो । बाँकेको नेपालगञ्जमा सबैभन्दा थोरैले मानिसले औषधी खाने गरेका छन् । नेपालगञ्जमा गतवर्ष ४९ प्रतिशतले औषधी खाएका थिए ।
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले जनप्रतिनिधिले नै औषधी नखाइदिंदा जनताले औषधी नखाएको टिप्पणी गर्नुभयो । उहाँले यसपाली सबैले मिलेर सबै जनतालाई औषधी खुवाउनु पर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले राष्ट्रिय अभियानलाई सफल बनाउन सबै लाग्नु पर्ने बताउनुभयो ।
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले औषधी खानेले खाइरहने र नखानेले नखाने गर्नाले अभियान सफल हुन नसकेको बताउनुभयो । उहाँले यसपाली सबैलाई औषधी सेवन गरिदिन आग्रह गर्नुभयो ।
स्वास्थ्य कार्यालयकी हात्तीपाइले रोगकी फोकलपर्सन दुर्गा गौतमले यसपाली बाँकेमा उचाईका आधारमा तीन थरीका औषधी खुवाउने जानकारी दिनुभयो । बाँकेमा अहिले ४.१ प्रतिशत हात्तीपाइले रोगका संक्रमित रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !