कांग्रेसमा इगोको लडाईले संस्थापन समूह तितरवितर

नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेमा संस्थापन समूहको लडाईको फाइदा कोइराला समूहले लिएको छ ।
सभापतिका दुई जना प्रतिस्पर्धी हुनु र दोस्रो चरणको निर्वाचनमा आपसी लडाईले संस्थापन समूह तितरवितर हुँदा कोइराला पक्षले त्यसको फाइदा लिएको छ । बाँकेमा संस्थापनको लडाईले गर्दा गुम्दै गरेको कोइरालाको विरासत जोगिएको छ ।
सभापतिमा संस्थापनबाट बादशाह कुर्मी र सुरेन्द्र हमाल तथा कोइराला समूहबाट नारायणप्रसाद गौडेलले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा कसैको पनि ५० प्रतिशतबढी मत आएन । पहिलो चरणमा गौडेल प्रथम, कुर्मी दोस्रो र हमाल तेस्रो भए । पहिलो चरणमा एक हजार ४५ मतमध्ये गौडेलले ५ सय ६९, कुर्मीले ५ सय ३८ र हमालले ३ सय १४ मत ल्याएका थिए । २४ मत बदर भएको थियो ।
दोस्रो चरणको मतदानमा पहिलो र दोस्रोका बीचमा प्रतिस्पर्धा भयो । दोस्रो चरणमा कोइराला समूहका गौडेलले बाजी मारेका हुन् । गौडेलले ७ सय ६० मत ल्याउदा कुर्मीले ६ सय ६३ मत ल्याएका थिए ।
पहिलो चरणको निर्वाचनमा हमालले ल्याएको ३ सय १४ मत मध्ये करिव दुई सय मत गौडेलतिर गएको देखिन्छ । संस्थापन समूहका हमालले समर्थन गरिदिएपछि कोइराला समूहका गौडेल विजयी भएका हुन् ।
हमाललाई क्षेत्र नं. २ का सभापति रमेश गुप्ताको पूर्णसमर्थन थियो । केन्द्रले संस्थापन समूहबाट हमाललाई उम्मेदवार बनाउने भनेपनि छिमेकी जिल्ला बर्दिया निवासी कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले कुर्मीलाई बोकिरहेपछि संस्थापनमा द्वन्द्व सिर्जना भएको नेताहरु बताउँछन् । एक नेता भन्छन्, ‘सभापतिमा बादशाह कुर्मीको होइन किशोरसिंह राठौरको हार हो ।’
राठौरले केन्द्रसँग तालमेल गरेर एउटै उम्मेदवार बनाउन नसक्दा देउवा समूहले पहिलो पटक जित्न थालेको कांग्रेस बाँकेको नेतृत्व फुस्किएको छ । ‘राठौरले या त केन्द्रका नेतालाई मनाएर कुर्मीलाई उम्मेदवार बनाउनु पथ्र्यो या त केन्द्रका नेताले भनिसकेपछि हमाललाई बोकेर हिड्नु पथ्र्यो, एक नेताले भने, यसमा राठौर चुक्नु भयो । मै हुँ भन्ने राठौरलाई मतदाताले देखाइदिए ।’
जिल्लाको चुनावले संस्थापन समूहमा भुँइचालो गएको छ । अन्य पदाधिकारीमा मिश्रण परिणाम आएको छ । उपसभापति, सचिवमा दुवै समूहबाट एक÷एक जनाले चुनाव जितेका छन् । उपसभापतिमा गोपालप्रसाद अधिकारी र कृष्णबहादुर कार्की, सचिवमा सुधांशु कोइराला र सञ्जुकुमारी चौधरी, सहसचिवमा रेणुसिंह ठाकुर र विनोदकुमार थारु विजयी भएका छन् ।
तत्कालिन पार्टी सभापति एवं प्रधानमन्त्री स्व. सुशील कोइरालाको गृह जिल्ला हो, बाँके । अहिलेसम्म जिल्लामा कोइराला पक्षले नेतृत्व गरिरहेको छ । स्पष्ट रुपमा पहिलो पटक कोइराला समूह कमजोर देखिएको थियो । संस्थापन समूहको आपसी लडाईले कोइराला समूहको विरासत जोगियो । संस्थापन समूहमा ‘भाइफुटे गवार लुटे’ भनेझै भएको छ । समूहमा खैलाबैला मच्चिएको छ । एक अर्काको रिसरागले गर्दा विरासत गुमेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा कांग्रेसबृत्तमा जिल्ला निर्वाचनलाई बडो गम्भीरतापूर्वक लिइएको छ । टिकट बाँडफाँडमा यसको ठूलो माने रहने नेताहरु बताउँछन् ।


error: यो सुविधा उपलब्ध छैन !