अपराजित हुँदै भैरवप्रसाद गणले जित्यो, कमाण्ड सेनापति ट्रफीको उपाधी

नेपालगञ्ज – भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाले कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।
नेपालगञ्ज रंगशालामा भएको फाइनलमा खेलमा चन्दननाथ गण, मालिका ब्यारेक जाजरकोटलाई १–० गोलले पराजित गर्दै भैरवप्रसाद गणले उपाधी जितेको हो । भैरवप्रसाद गणका अनिस लामाले ५७ औं मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो ।
भैरवप्रसाद गणले चन्दननाथलाई लिग चरणमा २–० गोलले पराजित गरेको थियो ।


प्रतियोगिताको विजेता र उपविजेता, रेफ्री, अन्य खेलाडी, पत्रकारलगायतलाई पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाही, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, सहायक रथी टंकप्रसाद भट्ट, श्री नं. ४ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी उत्तमकुमार विष्ट, महासेनानी प्रज्वल रायमाझी, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणि अधिकारी, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीलगायतले पुरस्कार तथा सम्मानपत्र वितरण गर्नु भएको थियो ।


प्रतियोगितामा पश्चिम कमाण्डअन्तर्गतका आठ वटा टीमले भाग लिएको थियो । सेमिफाइनलमा पुग्ने चार वटा टीम चैत्र १६ गतेदेखि जेठ २ गतेसम्म हुने प्रधानसेनापति ट्रफीमा छनौट भएका छन् ।
अपराजित हुँदै विजेता बनेको भैरवप्रसाद गण, उपविजेता चन्दननाथ गण, मालिका ब्यारेक जाजरकोट, तेस्रो भएको रणबम गण, डडेल्धुरा र चौथो भएको रुद्रध्वज गण, सिलगढी ब्यारेक डोटी प्रधानसेनापति ट्रफीमा छनौट भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !