अब हात्तीपाइलेविरुद्धको अभियानमा तीनथरी औषधी

नेपालगञ्ज – नेपालमा हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रममा तीन थरीका औषधी खुवाउने तयारी भएको छ । अभियानको शुरुवातदेखि नै नेपालमा दुई थरीका औषधी खुवाउने गरिएको थियो ।
११ र १२ औं चरणसम्म औषधी खुवाउदा पनि असफल भइरहेका दशमध्ये पाँच जिल्लामा यसपाली तीन थरीका औषधी खुवाउने भएको हो । इपिडिमियोलोजी तथा रोग निवारण महाशाखाका शाखा प्रमुख डा. गोकर्ण दाहालले डिइसी र अल्वेन्डाजोल खुवाउने गरिएको अभियानमा यसपालीदेखि आइभरमेक्टिन थपिएको बताउनुभयो ।
फाल्गुन २८ गतेदेखि १४ दिनसम्म हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम चल्दैछ । नेपालका दश वटा जिल्लाहरु बाँके, दाङ, कपिलबस्तु, कैलाली, मोरङ, लमजुङ, पर्वत, बाग्लुङ, बारा र झापामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइदैछ । शाखा प्रमुख डा. दाहालले बाँके, दाङ, कपिलबस्तु, कैलाली र मोरङ जिल्लामा तीन थरीका औषधी सेवन गराउने बताउनुभयो । ‘कपिलबस्तुमा १२ औं पटक औषधी खुवाइसकियो । बाँके र दाङमा पनि ११ पटक औषधी खुवाइयो, यतिका चरण पार गर्दासम्म हात्तीपाइले रोग निवारण हुन सकेन, शाखा प्रमुख डा. दाहालले भन्नुभयो, अब नेपालमा हात्तीपाइले रोग निवारणमा प्रभावकारी मानिएको आइभरमेक्टिन प्रयोगमा ल्याउँछौं ।’ आइभरमेक्टिनले हात्तीपाइलेसँगै लुतो, झुम्रा र मलेरिया रोक्नसमेत काम गर्ने अधिकारीहरुको भनाई छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको हात्तीपाइले रोगको औषधी खुवाउने अभियानको योजना तर्जुमा गोष्ठीमा दिइएको जानकारी अनुसार, तीन थरीका औषधी खुवाउने भएकाले यसपाली व्यक्तिको उचाईको आधारमा औषधीको मात्रा निर्धारण गरिनेछ । यसअघिका अभियानमा दुई थरीका औषधी थिए र उमेरका आधारमा औषधीको मात्रा छुट्याइन्थ्यो ।
महिला स्वास्थ्य स्वयंसेविका या स्वास्थ्यकर्मीले औषधीको तथ्यांकलाई आधार बनाउदा कभरेज देखिने तर वास्तविक खाने मान्छे कम हुने गरेको सम्बद्धहरुको भनाई छ । यसपाली स्वास्थ्यकर्मीको अगाडि नै व्यक्तिलाई उपस्थित गराएर औषधी निलेपछि मात्रै रजिष्टरमा नाम लेख्नु पर्ने सर्कुलर गरिएको छ । हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवनको फम्र्याट नै परिवर्तन गरिएको छ । पहिला बुथ र घरघरमा गएर औषधी खुवाइन्थ्यो । यसपाली मान्छे भीडभाड हुने ठाउँमा गएर स्वास्थ्यकर्मीले औषधी खुवाउन भनिएको छ ।
खानेले खाइरहने र नखानेले खादै नखाइदिंदा हात्तीपाइले रोगविरुद्धको अभियान असफल हुँदै आएको छ । २०७८ मा गरिएको सर्वेक्षणमा बाँकेको रझेनामा ४४ प्रतिशतले मात्रै पाँच वर्षसम्म नियमित औषधी खाएको पाइएको थियो । १७ प्रतिशतले अहिलेसम्म एकपटक पनि औषधी खाएका छैनन् ।
नेपालका ५३ वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको अभियान सफल भइसकेको छ । दश वटा जिल्ला फेल हुँदै आएको छ । फेल भएका जिल्लामा कभरेज ६५ प्रतिशतबढी देखाउने गरिन्छ । कभरेज धेरै देखिएपनि समुदायमा रोग उस्तै रहेको छ ।
गोष्ठीमा प्रदेश स्वास्थ्यमन्त्री इन्द्रजीत थारु, इपिडिमियोलोजी तथा रोग निवारण महाशाखाका निर्देशक डा. चुमनलाल दास, प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरी, बाँकेका स्थानीय तह तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो । गोष्ठीमा विभिन्न व्यक्तित्वहरुले प्रस्तुती गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !