नेपालगञ्जमा बस्नेतलाई स्वागत, सुवेदीलाई बिदाई

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतलाई सोमबार औपचारिक कार्यक्रम गरि कार्यालयमा स्वागत गरिएको छ ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत तथा यसअघिका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीको बिदाई गरिएको हो । नगर प्रमुख डा. धवलशमशेर राणाले नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत र यसअघिका प्रमुख प्रशासकीय अधिकृत सुवेदीको बिदाई गर्नुभयो ।
सुवेदीको करिब तीन महिनामै नेपालगञ्जबाट सरुवा भएको भन्दै नगर प्रमुख राणाले उहाँले नेपालगञ्जको विकास निर्माणको सन्दर्भमा छोटो समयमै महत्वपूर्ण काम गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतको कार्याकालमा यहाँ विकास निर्माणका कामले गति लिने बिश्वास ब्यक्त गर्नुभयो ।
सुवेदीले छोटो समयमा नेपालगञ्जमा सबैको साथ र सहयोग पाएको भन्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जनप्रतिनिधि र कर्मचारी सबैको साथ र सहयोग लिएर नेपालगञ्जको विकास निर्माणमा ईट्टा थप्न प्रयास गर्ने बताउनुभयो । गृह मन्त्रालयमा रहदा विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी वहन गरिसक्नुभएका बस्नेतले दैलेखको नारायण नगरपालिका, सल्यानको बागचौर नगरपालिका र सुर्खेतको भेरी गंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पनि जिम्मेवारी सम्हाली सक्नु भएको छ । बस्नेतले यसअघि बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा पनि जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !