तीन सय वटा ब्रोइलर कुखुरा बरामद

नेपालगञ्ज – बाँके प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याइएका तीन सय वटा ब्रोइलर कुखुरा बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय, नेपालगञ्ज इन्चार्ज प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतबाट जानकी गाउँपालिका हुँदै भित्र्याइएको दुई लाख ४० हजार बराबरको कुखुरा बरामद गरेको हो ।
तीन वटा मोटरसाइकलमा राखेर कुखुरा ल्याइएको थियो । बाँके प्रहरीले बरामद गरेको कुखुरालाई पशु क्वारेन्टाइनमा पठाइदिएको छ ।
भारतबाट नेपालमा पक्षी तथा पक्षीजन्य पदार्थ ल्याउन प्रतिबन्ध रहेको छ । नेपालको पूर्वमा वर्डफ्लु देखिएको छ । बाँकेमा छोटी नाकाबाट कारोबारीले कुखुरा, चल्ला तथा मासु ओसार्ने गर्दछन् । भारतीय कुखुरा भित्रिएको भन्दै बाँकेका किसानले धेरैपटक आन्दोलन गरिसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !