मानव बेचबिखन रोकथाममा अष्ट्रेलियन राजदुतको चासो


नेपालगन्ज – अष्ट्रेलियन राजदुत जियान जोन स्टोनले मानव बेचबिखन रोकथाममा चासो देखाउनु भएको छ ।
नेपालगन्ज आइपुग्नु भएकी राजदुत स्टोनले सोमबार बिहान नेपालगन्ज नाकाको अवलोकन गर्दै मानव बेचबिखन रोकथाममा भए गरेका कारबाहीप्रति चासो देखाउनु भएको हो । अष्ट्रेलियाले मानव बेचबिखन रोकथाममा सहयोग गर्दै आएको छ ।
माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाले नेपालगन्ज नाकाको अवलोकन पछि मानव बेचबिखनका तौरतरिका, रोकथाम, उद्धार, पुनस्र्थापनाका बारेमा जानकारी गराउनु भएको थियो । राजदुत स्टोनको मानव बेचबिखनको अवस्था, कस्ता–कस्ता परिवार र समुदायका बढी प्रभावित, रोकथाम, उद्धार र पुनस्र्थापनामा आफूहरुले के सहयोग गर्न सक्छौं ? भन्ने जिज्ञासा राख्नु भएको थियो उहाँले आफूहरुमार्फत नेपाल सरकारलाई केही भन्नु पर्ने सुझाव दिन आग्रह गर्नु भएको थियो ।
नेपालगन्ज नाकाको अवलोकनपछि राजदुत स्टोन अध्यागमन कार्यालयमा पुग्नु भएको थियो । माइती नेपाल, नेपालगन्जका संयोजक कोइरालाले नेपालगन्ज नाकामा गर्ने केरकार, रोकथाम, उद्धारसँगै पुनस्र्थापनाका बारेमा जानकारी गराउँदै मासिक र वार्षिक तथ्यांक प्रस्तुत गर्नु भएको थियो । माइती नेपाल, नेपालगन्जले सन् २०२४ मा यो नाकाबाट ५ सय ९८ जनालाई उद्धार गरेको थियो । नेपालगन्ज नाका भएर भारत तथा भारत हुँदै तेस्रो मुलुकमा जान थालेका व्यक्तिलाई रोकेर सोधपुछ गर्दा शंकास्पद देखिएपछि माइती नेपालले उनीहरुलाई परिवारको जिम्मा लगाउदै घर फिर्ता पठाएको थियो । नेपालगन्ज नाकाबाट यो वर्ष ७ सय ७७ जनाको खोजतलासको निवेदन परेको थियो । त्यसमा ४ सय ७ जना फेला परेका थिए । ३ सय ७० जना अझै कहाँ छन् ? फेला पार्न सकिएको छैन ।
नेपालगन्ज नाकामा माइती नेपालजस्ता मानव बेचबिखन रोकथाममा काम गर्ने एक दर्जन संघ संस्थाले काम गर्ने गर्दछन् । यतिका संघ संस्था भएपनि भारत तथा तेस्रो मुलुकमा जोखिमपूर्ण यात्रा गर्नेहरु यही नाकाबाट गएको पाइन्छ । भारत तथा तेस्रो मुलुकमा पुगेर दुःख पाएकालाई उद्धार गरेर ल्याउदा कुन नाकाबाट गएका थियौ भन्ने प्रश्न गर्दा प्रायःले नेपालगन्ज नाकाबाट भन्ने गरेको पाइन्छ । नेपालगन्ज नाकापारी रुपैडिहामा किनमेल गर्न जाने नेपालीको संख्या दैनिक धेरै हुने भएकाले दलालले जोखिमपूर्ण यात्रामा लैजाने महिलालाई त्यही भीडको फाइदा उठाएर नाका पार गराउने गर्दछन् ।
नेपालगन्जलगायत विभिन्न जिल्लाबाट भारतको दिल्लीलगायतका ठाउँमा सिधैं बस जाने भएकाले जोखिमपूर्ण यात्रामा निस्किनेहरुले सहजै नाका पार गर्ने गरेको एकथरीको भनाई छ । बस सुख्खा बन्दरगाहतिरबाट जाने र त्यहाँ मानव बेचबिखन रोकथाममा काम गर्ने संघ संस्था तथा प्रहरीकै उपस्थिति राम्रो नभएको जानकारहरु बताउँछन् ।
नेपालगन्जमा केही दिनअघि नेपाल र भारतका सरकारी तथा गैरसरकारी संघ संंस्थाका अधिकारीको कार्यशालामा मानव बेचबिखन रोकथामका लागि संयुक्त पहल गर्ने, सूचना आदान प्रदान गर्ने, उद्धार र पुनस्र्थापनामा सहयोग गर्न एउटा संयन्त्र बनाइएको छ । त्यसको संयोजकमा माइती नेपाल, नेपालगन्जका संयोजक रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !