कर्णालीमा पैसाको जोहो गर्दै भुक्तानी गर्दै राष्ट्र बैंकको टीम
नेपालगन्ज – नेपाल राष्ट्र बैंकले गठन गरेको व्यवस्थापन समूहले अन्तर बैंक सापटी लिएर कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताको निक्षेप भुक्तानी गरिरहेको छ । निक्षेपकर्तालाई निराश हुन नदिन व्यवस्थापन समूहले पैसाको जोहो गर्दै भुक्तानी गरिरहेको हो ।
खराव कर्जाको प्रवाह अधिक र आन्तरिक सुशासन ध्वस्त भएपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै कर्णाली बैंकको जिम्मेवारी नियन्त्रणमा लिएर तीन सदस्यीय व्यवस्थापन समूह बनाई नेपालगन्ज पठाएको छ । टीकाराम खतिवडा संयोजक तथा जुगलकिशोर कुशवाह र विष्णुकुमार विश्वकर्मा सदस्य रहेको समूहले अन्तर बैंक सापटी र कर्जा असुल गर्दै निक्षेपकर्ताको निक्षेप भुक्तानी गरिरहेको हो ।
संयोजक खतिवडाले ५ करोड अन्तर बैंक सापटी र कर्जा उठाएर करिव दश करोड रुपैया निक्षेपकर्ताको निक्षेप भुक्तानी गरेकोे जानकारी दिनुभयो । राष्ट्र बैंकको व्यवस्थापन समूहले बाँकेको नेपालगन्ज, कोहलपुर, खजुरा, शमशेरगन्ज, बैजापुर, बर्दियाको बाँसगढी, भुरीगाउँ, सानोश्री, गुलरिया, ठाकुरद्वारा, राजापुर र दाङको तुलसीपुर, बिजौरी, नारायणपुर, घोराही, लमही, भालुवाङ, गढवा र सिसहनिया शाखाबाट पैसा जुटाउदै निक्षेपकर्तालाई भुक्तानी गर्दै आएको छ । एक जनालाई २५ हजारसम्म भुक्तानी गरिरहेको बैंकले पैसाको जोहो गर्न केही दिन बीचमा भुक्तानी रोकेर फेरि माघीलाई मध्यनजर गर्दै रकम भुक्तानी गर्दैछ । सहकारीहरु धमाधम डुबेर बचतकर्ताको रकम डुबिरहेको बेला परेको र बैंकसमेत समस्याग्रस्त घोषणा गरेर भनेकोजति पैसा भुक्तानी नहुँदा बचतकर्ता निराशा हुनुलाई स्वभाविक मानिएको छ । व्यवस्थापन समूहले यस कुरालाई मध्यनजर गर्दै अन्तर बैंक सापटी, कर्जा बिक्री र कर्जा उठाउदै निक्षेपकर्ताको निक्षेप भुक्तानीलाई प्राथमिकता दिएर अघि बढेको जनाएको छ ।
व्यवस्थापन समूहका संयोजक खतिवडाले यतिबेला समूह निक्षेप भुक्तानीसँगै बैंकको सम्पति र दायित्वको मूल्यांंकन (डीडीए) गर्न र तरलता व्यवस्थापनमा लागि परेको बताउनुभयो । उहाँले डीडीएका आधारमा यथार्थ विवरण आउने र नीति बनाएर अघि बढ्ने जानकारी दिनुभयो । तरलता व्यवस्थापनमा अन्तर बैंक सापटी, कर्जा सापटी दिएका बैंकलाई कर्जा फाइल बिक्री र कर्जा स्वावको काम भइरहेको छ । समूहले शाखा कार्यालयलाई कर्जा असुल गरेर त्यही भुक्तानी दिन निर्देशन दिएको छ ।
पुस १० गते कर्णाली बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि राष्ट्र बैंकले आफ्नो समूह पठाएको थियो । समूहले अहिलेसम्म हेर्दा बैंकमा धेरै बेतिथि देखिएको जनाएको छ । संस्थागत सुशासन कमजोर, आन्तरिक नियमन ध्वस्त, छोडेका कर्मचारीसँग सापटी असुल गर्न बाँकी, खराब कर्जा बढेको, फ्लोअप नगरेको, सञ्चालक र सिइओले घुमाउरो तरिकाले कर्जा लिएको पाइएको छ । समूहले अपचलन गरेका व्यक्तिलाई स्वेइच्छाले रकम बुझाइदिन आव्हान गरेको छ । बैंकले चार÷पाँच वर्षदेखि कर तिरेको छैन । व्यवस्थापन समूहले तीन महिनामा बैंकलाई एउटा स्वरुपमा ल्याउने कोसिस गरिरहेको जनाएको छ ।