वडाले उत्पादन ग¥यो च्याउ, सस्तोमा बिक्री


खजुरा – बाँकेको खजुरा गाउँपालिका वडा नं. २, सीतापुरको वडा कार्यालयले च्याउ उत्पादन गरेर बिक्री गरेको छ । वडा कार्यालय परिसरमै चिटिक्कको टनेल बनाएर च्याउ खेती गरिएको छ । तीन लाख ३० हजार रुपैयामा बनाइएको त्यो टनेल बाहिरबाट हेर्दा जति राम्रो र आकर्षक देखिन्छ, भित्र अझै त्यो भन्दा मनमोहक र मनै लोभ्याउने गरी च्याउ उम्रिएका छन् ।
टनेलभित्र ५ सय ५० वटा प्लाष्टिकको पोकामा बाक्लिएर उम्रिएको कन्य च्याउ हेर्दा जो कोहीको मन लोभ्याउने गरेको छ । यो कुनै एक किसानले गरेको खेती होइन, वडा कार्यालयले आफैले उत्पादन गरेको हो ।
‘गरे के हुँदैन र ?’ भन्ने देखाउन वडा कार्यालय आफैले लगानी गरेर टनेलमा च्याउ खेती गरेको हो । वडा कार्यालयले नै राम्रो च्याउ खेती गरेर देखाएपछि स्थानीयवासी त्यसप्रति आकर्षित भएका छन् । मंसीर १५ गते ६ दिन लगाएर राखिएको पोकामा अहिले वाक्लै च्याउ उम्रिएको छ । वडा कार्यालयले च्याउ बेच्न शुरु गरेको छ । वडा कार्यालयमै राखेर च्याउ बिक्री गरिरहेको छ । वडा कार्यालयमा सेवा लिन आएका व्यक्तिले सस्तोमा च्याउ लिएर घर जाने गरेका छन् । वडा कार्यालयले बजार भन्दा धेरै सस्तोमा च्याउ बिक्री गरिरहेको छ । नेपालगन्ज बजारमा २ सय ८० रुपैया किलो रहेको च्याउ वडा कार्यालयले एक सय २० रुपैया किलोमा बेचिरहेको छ । आफूले उत्पादन नगरेपनि स्थानीयवासीले सस्तोमा च्याउ खान पाएका छन् । वडाध्यक्ष धनबहादुर वलीले सस्तोमा दिएर होला, फुटकरमै धमाधम च्याउ बिक्री भइरहेको बताउनुभयो ।


एक पटक लगाएको च्याउ चार पटकसम्म टिप्न सकिन्छ । एकपटकमा सात सय किलो च्याउ टिपेर बेच्न सकिने वडाध्यक्षको आकलन रहेको छ । वडाध्यक्ष वलीले तीन लाख ३० हजार टनेलमा र ८० हजार रुपैया बिउ, प्लाष्टिक, प्राविधिकमा खर्च गरेको जानकारी दिदै पहिलो लटमा जसरी राम्रो भएमा धेरै फाइदा हुने बताउनुभयो ।
पराले च्याउ (कन्य) उत्पादन गर्न शुरुमा पराललाई टुक्रा–टुक्रा गरेर काट्नु पर्छ । त्यसपछि टनेल बाहिर प्लाष्टिकको इनारजस्तो गराएर धुने, ड्रममा राखेर उसिन्ने र त्रिपालमा राखेर चिस्यान बनाउने, त्यसपछि प्लाष्टिकको पोकामा खाद्ने र बिउ राख्ने अनि मुख बाधेर झुण्ड्याउनु पर्छ । पोकामा प्वाल बनाइएको हुन्छ । त्यहीबाट ढुसी भएर बाहिर निस्किन्छ र च्याउ बन्छ ।
वडा कार्यालयले आफ्नै अगाडि राम्रो च्याउ उत्पादन गरेर देखाइदिएपछि स्थानीयवासी उत्साहित भएका छन् । स्थानीय मानबहादुर वलीले गाउँमा जो कोहीले यसैलाई हेरेर च्याउ खेती गर्न सक्ने बताउनुभयो । ‘यसले युवालाई उत्प्रेरित गरेको छ, उत्साहित बनाएको छ, वलीले भन्नुभयो, मेहनत गरे जे पनि हुन्छ । खाली लगनशील, दत्तचित्त भएर लाग्नु पर्छ । विदेश नै ताक्ने युवालाई घरमै बसेर केही गर्न सकिन्छ भन्ने यसले देखाएको छ ।’


error: यो सुविधा उपलब्ध छैन !