प्रेस युनियनकाे बाँकेको वार्षिक साधारण सभा

नेपालगन्ज – नेपाल प्रेस युनियन, बाँकेको शनिबार वार्षिक साधारण सभा सम्पन्न भएको छ । युनियन बाँकेले पहिलो पटक वार्षिक साधारण सभा गरेको हो ।
युनियनको इतिहासमा यसभन्दा अघि वार्षिक रुपमा साधारण सभा भएको थिएन ।

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको साधारण सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारण सभाको उद्घाटन सत्रमा बोल्दै प्रमुख आतिथि बाल्मिकीले साधारण सभाको सफलताको शुभकामनासँगै व्यवसायीक पत्रकारको क्षमता अभिबृद्धि गर्न युनियनले बिशेष भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेस, बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी, युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, पूर्व महासचिव एवं नेपाली काँग्रेस बाँके क्षेत्र नं १ का सभापति पोषण केसी, ट्रेड युनियन काँग्रेस बाँकेका कार्यवाहक अध्यक्ष तोजेन्द्र विक, युनियनका अग्रज नेता निरज गौतम, युनियन बाँकेका पूर्व अध्यक्षको तर्फबाट जयनारायण शाहले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले स्वागत मन्तब्य राख्नुभएको उद्घाटन शत्रमा सचिव भिष्म लोधले युनियनको एक वर्षको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष खडक बहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बन्दसत्रले विविध बिषयमा निर्णय गरेको छ । साधारण सभाले पत्रकारहरुको राहतका लागि एनपियू कल्याण कोष स्थापना गर्ने निर्णय गरेको छ । जोखिम अवस्थामा रहेका बेला पत्रकारलाई सोही कल्याण कोषमार्फत सहयोग गर्न सहज बनाउने कोष स्थापना गर्ने निर्णय गरेको हो ।
युनियनका पूर्व अध्यक्ष जयनारायण शाहको संयोजकत्वमा महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, युनियनका निवर्तमान अध्यक्ष अर्जुन ओलीसहितको अध्यक्ष मण्डलले कोषलाई व्यवस्थित ढङ्गले संचालनका लागि कार्यबिधि निर्माण गरेर कार्यान्वयन गर्नेसमेत निर्णय गरेको सचिव लोधले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जय सिंह केसी, सचिवालय सदस्य गौरव गिरी, नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रचार विभाग सदस्य रबिन्द्र घिमिरे, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष एवं ठकुरी पत्रकार संघ बाँके अध्यक्ष करुणा शाह, युनियनका अग्रज रुपन ज्ञवाली, अवधी पत्रकार संघ बाँकेका प्रहलाद बिश्वकर्मा, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !