अब बाँकेमै सुरु हुने भयो बिए एलएलबी


नेपालगन्ज –  बाँकेमा पहिलो पटक बिए एलएलबी (पाँचवर्षे) कोर्षको अध्यापन सुरु हुने भएको छ । यसै शैक्षिक सत्रदेखि नेपालगन्ज ल एण्ड म्यानेजमेन्ट क्याम्पसले पाँच वर्षे बिए एलएलबी कोर्षको सुरुआत गर्न लागेको हो । प्रमाणपत्र तह उत्तिर्ण गरेका विद्यार्थीहरुले पाँच वर्षे बिए एलएलबीमा भर्ना हुन पाउनेछन् ।
राजर्षी जनक विश्वविद्यालय जनकपुरधाम धनुषाबाट अध्यापन अनुमति लिएर नेपालगन्ज ल एण्ड म्यानेजमेन्ट क्याम्पसले बाँकेमा बिए एलएलबीको पढाई सुरु गर्न लागेको हो । राजर्षी जनक विश्वविद्यालय कार्यकारी परिषदको गत भदौं १२ बसेको बैठकले नेपालगन्ज ल एण्ड म्यानेजमेन्ट क्याम्पसलाई अध्यापनका लागि अनुमति दिएको हो ।
बाँकेमा स्वास्थ्य क्षेत्रको लोकप्रिय संस्थाको रुपमा परिचित नेपालगन्ज हेल्थ क्याम्पसका संचालक मैकुलाल वाल्मिकीको नेतृत्वमा बिए एलएलबी कोर्षको सुरुआत हुन लागेको हो । नेपालगन्ज ल एण्ड म्यानेजमेन्ट क्याम्पसका अध्यक्ष एवम् संचालक वाल्मिकीले बाँकेमा कानुन विषय पढ्न चाहने विद्यार्थीहरुलाई लक्षित गरेर बिएएलएलबी कोर्षको सुरुआत गरिएको बताए । उनले भने, ‘बाँकेमा कानुन विषय पढ्ने विद्यार्थीको संख्या बढिरहेको छ । यहाँ सुविधा नहुँदा काठमाडौं, भारतको नयाँ दिल्ली, लखनउ गएर पढनु पर्ने बाध्यता रहेको थियो । यसले गर्दा विद्यार्थीहरुलाई आर्थिक रुपमा पनि भार पर्ने गरेको थियो । अब त्यो समस्या रहने छैन ।’
व्यवस्थापनलाई बलियो बनाउँदैं दक्ष जनशंक्तिबाट अध्यापन गराउने तयारी गरिरहेको वाल्मिकीले बताए । उनले भने,‘कानुन पढेका विद्यार्थीको यहाँ धेरै राम्रो सम्भावना छ । गाउँघरमा न्याय प्राप्तीका लागि धेरै जनताले दुःख पाइरहेका हुन्छन् । बिए एलएलबी स्तरका विद्यार्थी यही उत्पादन भएपछि स्थानीय जनतालाई सहयोग हुन्छ । यसले गर्दा कानुनी सेवाबाट कोही पनि बञ्चित हुनु पर्दैन।’


error: यो सुविधा उपलब्ध छैन !