तटबन्ध भत्किरहेकाले निदाउँदैनन् स्थानीयवासी


नेपालगन्ज – घर अगाडि नै रहेको राप्ती नदीमा बनाइएको तटबन्ध पूर्णरुपमा भत्किने अवस्थामा पुगिसकेको छ । नदीले दैनिकजसो त्यो तटबन्धलाई काटेको उनले देखिरहन्छन् । यता, जिल्ला प्रशासन कार्यालय, बाँकेले अधिक वर्षा हुने भएकाले दुई दिन सतर्क रहन सूचना जारी गरेको छ ।
अधिक पानी पर्ने सूचना अनि आधाबढी भत्किएको तटबन्ध देखिरहेका राप्तीसोनारी गाउँपालिका वडा नं. ७, खल्ला झगडियाका दुर्गाप्रसाद पाण्डेलाई निन्द्रा परिरहेको छैन । कतिबेला ठूलो पानी पर्ने हो र तटबन्ध भत्किएर गाउँ बगाइदिने हो भने भन्ने पाण्डेलाई चिन्ता रहेको छ । पाण्डे भन्नुुहुन्छ, ‘तटबन्ध मर्मतसम्म गरिदिएको भए राम्ररी सुत्न सकिन्थ्यो । हामी त आज हो कि भोली बग्ने हो चिन्ताले सताएको छ ।’
राप्ती नदीले धार परिवर्तन गरेपछि खल्ला झगडिया नजिक पुगेको छ । नदीको किनारमा अस्थायी तटबन्ध त बनाइएको छ । तर, नदीले केही वर्षदेखि अलिअलि काट्दा काट्दै भत्किने अवस्थामा पु¥याएको छ । अलिकति बाँकी रहेको खल्ला झगडियास्थित तटबन्ध भत्किएमा राप्तीसोनारीका वडा नं. ७ सँगै नरैनापुर गाउँपालिका पुरै डुवानमा पर्दछ । त्यहाँबाट राप्ती नदी गाउँ पस्छ । यसले करिव ६० हजार मानिसलाई प्रभावित पार्ने आकलन गरिएको छ ।
दशक अघि राप्ती नदीमा तटबन्ध नबन्दा तटीय क्षेत्रका बासिन्दा आकाशमा बादल देखेपछि सुत्न सक्दैनथे । सरकारले यो बीचमा नदीमा अस्थायी तटबन्ध बनाइरहेको छ । बनेको ठाउँ खल्ला झगडियास्थित तटबन्ध भत्किने अवस्थामा पुगेपछि अहिले फेरि त्यस आसपासका मानिस आकाशमा बादल देखेपछि तर्सिने गरेका छन् । त्यसो त साउन २२ र २३ गते बाँकेमा अधिक वर्षा हुने भएकाले सतर्क अपनाउन जिल्ला प्रशासनले सूचना नै जारी गरेको छ ।
राप्ती नदीको अगैयादेखि तल्लो तटीय क्षेत्रसम्मको २८ किलोमिटरमा पक्की तटबन्ध बनाएपछि मात्रै स्थायी समाधान हुन्छ । सन् २००३ मै भारतले यो ठाउँमा पक्की तटबन्ध बनाइदिने आश्वासन दिएको थियो । धेरै वर्षसम्म सामसुम रहेको यो विषय बीचमा आएर कार्यान्वयनको चरणमा गएको बताइएको छ । यद्यपि, काम भने शुरु भएको छैन । भारतको आश गरेर नेपाल सरकारले काम गरिरहेको छैन । जनताको तटबन्ध कार्यालयले अस्थायी तटबन्ध बनाइरहेको थियो, त्यसलाई पनि रोकिएको छ । कतिसम्म भने भत्किएको ठाउँमा समेत सरकारले मर्मत गर्न सकिरहेको छैन । भत्किएर जनता डुवानमा परेपछि उद्धारको नाटक मञ्चन हुने स्थानीयको आक्रोश छ । स्थानीय सोहनलाल यादवले क्षति पु¥याउनु अघि नै तटबन्धको मर्मत गर्न आग्रह गर्नुभयो ।
स्थानीयले त्यस क्षेत्रबाट निर्वाचित संघीय सांसद सूर्य ढकाललाई तटबन्ध बनाइदिन दबाब दिइरहेका छन् । सांसद ढकालले आफै घटनास्थलमा गएर स्थानीयको आक्रोशलाई शान्त पार्दै प्रयास गरिरहेको आश्वासन दिइरहनु भएको छ । जनताले भने सांसदको आश्वासन नभएर काम खोजिरहेका छन् । त्यसका लागि पैसा छुट्याउने काम भएको छैन ।
वि.सं. २०७१ सालमा राप्ती नदीमा ठूलो बाढी आएको थियो । २०७४ मा अलि सानो बाढी आयो । त्यसपछि खासै बाढी आएको छैन । नदीले धार परिवर्तन गरेकाले पनि पहिलाजस्तो ६ मिटर पानीको सतह आउने वित्तिकै गाउँ डुब्ने अवस्था छैन । अहिले नदीमा ८ मिटर पानीको सतह हुँदा पनि गाउँ सुरक्षित रहेका छन् । ८ मिटर बढी नदीमा सतह भएको छैन । बाँकेमा जति ठूलो पानी परेपनि नदीमा बहाब बढ्दैन । पहाडमा पानी परेपछि नदीमा बाढी आउँछ ।
राप्ती नदीको दुवै किनारामा पक्की तटबन्ध बनाउने, बाढी आएको बेलामा भारतले एकतर्फी बनाएको लक्ष्मणपुर बाँधको ढोका खोल्ने काम गर्न सकेमा तटीय क्षेत्रका बासिन्दालाई ठूलो राहत हुन्छ । हुन त भारतले कलकलवा तटबन्ध र दशगजामै सडकजस्तो पक्की बाँध बनाएर पनि नेपालका नदी, खोला, नालाको पानीको प्राकृतिक बहाबलाई रोकिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !