सात दिवसीय मनोसामाजिक परामर्श तालिम सम्पन्न

नेपालगन्ज –  देशैभरि संचालनमा रहेका लागूऔषध उपचार तथा पुनर्स्थापना केन्द्र तथा सम्बद्ध कर्मचारीको क्षमता अभिवृद्धिका लागि आयोजित सात दिवसीय मनोसामाजिक परामर्श तालिम सम्पन्न भएको छ ।

एफडीडीआर बाँकेको आयोजना र लिभवेल काउन्सिलिङको प्राविधिक संयोजनमा भाद्र २३ देखि २९ गतेसम्म नेपालगन्जमा संचालित उक्त तालिममा बाँके, सुर्खेत, दाङ, धनगढी, झापा, सुनसरी र काठमाडौंमा रहेका पुनर्स्थापना केन्द्रका संचालक र कर्मचारी गरी २५ जना सहभागी थिए । प्रशिक्षार्थीलाई लिभवेल काउन्सिलिङका प्रमुख भोजराज शर्मा र नेपालगन्ज मेडिकल कलेजका कन्सल्टेन्ट साइकियाट्रीस्ट डा. अनुप उपाध्यायले प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा लागू औषध दुर्व्यसन लगायत विश्व स्वास्थ्य संगठनले तोकेका २० मुख्य मानसिक समस्याबारे प्रशिक्षार्थीलाई जानकारी दिनुका साथै परामर्शका चरणहरूबारे वैज्ञानिक विधिहरूबारे प्रशिक्षार्थीहरूलाई सीपमूलक ज्ञान दिएको लिभवेल काउन्सिलिङका प्रमुख तथा मनोपरामर्शकर्ता भोजराज शर्माले बताए ।

आयोजक संस्था फेडरेसन अफ ड्रग डिमान्ड रिडक्सन बाँकेका संयोजक रमेश काजी महर्जनले गृह मन्त्रालय लागू औषध नियन्त्रण ब्युरोको समन्वयमा मनोचिकित्सक समेतको कक्षाहरु राखेर नेपालगन्जमै पहिलो पटक यस्तो तालिम आयोजना भएको र यसले पुनर्स्थापना केन्द्रका सन्चालकलाई परामर्शका न्युनतम सीपहरू सिकाएको बताए।
समापन सत्रमा लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दीनेश पन्थी, एफडिडिआर नेपालका केन्द्रीय अध्यक्ष प्रशान्त शर्मा, नेपालगन्ज उपमहानगर पालिकाका उपप्रमुख कमरुद्दिन अन्सारीलगायतले बोलेका थिए । उद्घाटन र प्यानल डिसकसन सहितको समापन सत्रको सन्चालन एफडिडिआर बाँकेका अभिराज क्षेत्रीले गरेका थिए।


error: यो सुविधा उपलब्ध छैन !