विस्थापित नरैनापुर इलाका प्रशासन स्थापित


नेपालगन्ज – सुरक्षाको कारण देखाउदै विस्थापित भएको इलाका प्रशासन कार्यालय, नरैनापुर सञ्चालनमा ल्याइएको छ ।
प्रदेशमन्त्री कृष्णा केसी नमूना, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहलगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा बिहीबारदेखि नरैनापुर इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको हो । इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि नरैनापुरका जनताले घरदैलोबाट सेवा पाउने भएका छन् । नागरिकता र राष्ट्रिय परिचय पत्र बनाउन ४२ किलोमिटर टाढा नेपालगन्ज जानुपर्ने बाध्यता हटेको छ ।
मन्त्री नमूना, प्रमुख जिल्ला अधिकारी रिजाल, गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि नरैनापुरका जनतालाई सेवा लिन नेपालगन्ज जानु पर्ने बाध्यता हटेर गएको बताए ।
नरैनापुर इलाका प्रशासन कार्यालय २०४६ सालमा स्थापना भएको थियो । सशस्त्र द्वन्द्वकालमा यो विस्थापित भयो । शान्ति प्रक्रियापछि फेरि इलाका प्रशासन कार्यालय नरैनापुरबाट सञ्चालनमा आयो । २०७० सालतिर कर्मचारी असुरक्षित भए भन्दै रातारात भागेर आएपछि पुनः नरैनापुर गएको थिएन । बीचमा पटक–पटक लैजाने प्रयास भएपनि असफल भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !