नेपालगन्ज भन्सारमा ६३ प्रतिशत राजश्व संकलन


नेपालगन्ज – नेपालगन्ज भन्सार कार्यालयले ६३ प्रतिशत राजश्व असुली गरेको छ । प्रत्येक वर्ष लक्ष्य घटाउदै गएको नेपालगन्ज भन्सारले आर्थिक वर्ष २०८०–८१ मा ६३.३४ प्रतिशतमात्रै राजश्व असुली गरेको हो ।
भन्सारले कार्यालयले २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार रुपैया राजश्व संकलनको लक्ष्य राखेको थियो । भन्सारले यो आर्थिक वर्षमा १८ अर्ब १५ करोड ७२ लाख ३९ हजार एक सय ९१ रुपैया संकलन गरेको छ । भन्सार कार्यालयका धु्रवराज विश्वकर्माले यो आर्थिक वर्षमा दश अर्ब बढी राजश्व कम संकलन भएको बताए ।
भन्सार कार्यालयले यो वर्ष गतवर्ष भन्दा लक्ष्य कम राखेको थियो । एक अर्ब रुपैया कम लक्ष्य राख्दा पनि भन्सारले लक्ष्य अनुसारको लक्ष्य प्राप्त गर्न सकेन । आर्थिक वर्ष २०७९–८० मा नेपालगन्ज भन्सारको लक्ष्य २९ अर्व ३२ करोड ९५ लाख ३९ हजार रुपैया रहेको थियो । भन्सारले १८ अर्व १९ करोड ६९ लाख ७५ हजार राजस्व संकलन भएको थियो ।
भारतले चिनी पठाउन रोकेपछि भन्सारको राजश्व असुली घटेको बताइएको छ । भन्सार कार्यालयका प्रमुख विश्वकर्माले आर्थिक वर्ष २०८०–८१ मा चिनी रोकिदा लक्ष्य भन्दा न्यून राजश्व संकलन भएको बताए । आर्थिक वर्ष २०७९–८० मा चिनी आयातबाट मात्रै करिव ९० करोड राजश्व असुली भएको थियो ।
नेपालगन्ज भन्सारबाट पेट्रोलियम पदार्थ, चामल, खाद्यान्न, फलाम, तरकारी, फलफूल बढीमात्रामा भित्रिने गर्दछ । यो नाकाबाट जडीबुटी, प्लाइउड, सिमेन्ट, कत्था भारत निर्यात हुने गर्दछ ।


error: यो सुविधा उपलब्ध छैन !