जेठ १३ गतेदेखि आइपीभी खोप अभियान
नेपालगन्ज – बाँकेमा जेठ १३ गतेदेखि पोलियोविरुद्धको आइपीभी खोप अभियान सञ्चालन गरिने भएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेले बुधबार जिल्ला खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीसँग अभिमुखीकरण एवं वकालत बैठक राखेर आइपीभी खोप अभियानका बारेमा जानकारी गराएको हो ।
वि.सं. २०७१ असोजदेखि नेपालमा आइपीभी खोप अभियान शुरु गरिएको थियो । वि.सं. २०७३ बैशाखदेखि २०७५ असोज महिनासम्म यो खोप अभाव भयो । खोप अभाव हुँदा छुटेका बालबालिकालाई समेट्न अहिले अभियान सञ्चालन गर्न थालेको सम्बद्धले बताएका छन् । पोलियोविरुद्ध सुईबाट दिइने खोपलाई आइपीभी भनिन्छ ।
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अंगदबहादुर शाहीका अनुसार, जिल्लामा ३५ हजार ७ सय ५ बालबालिकालाई खोप दिइदैछ । जेठ १३ गतेदेखि १८ गते अभियान चलाउने र छुटेको पाइएमा २४ गतेसम्म नै खोप लगाउने तयारी गरिएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले २ सय ४३ खोप केन्द्रमा एक÷एक जना खोप लगाउने व्यक्ति र ४ सय ८६ जना स्वयंसेवक परिचालन गरिएको जानकारी दिनुभयो । आइपीभी खोप १४ हप्ता र ९ महिना उमेरका बालबालिकालाई लगाइन्छ । यो उमेरमा छुटेमा ५ वर्षभित्र ४÷४ महिनाको फरकमा खोप लगाइन्छ ।
जिल्ला खोप समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीको अध्यक्षतामा भएको बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, सुरक्षा निकाय र अस्पतालका प्रमुखहरुको उपस्थिति रहेको थियो ।