अतिक्रमित जग्गा फिर्ता गरिने


काेहलपुर – लामो समयदेखि अतिक्रमणमा परेको कोहलपुर नगर विकास समितिको जग्गा स्थानीय सरकार र गृहप्रशासन मिलेर फिर्ता गरिने भएको छ ।
कोहलपुर नगरपालिकाको आयोजनामा आइतबार कोहलपुरमा भएको सर्वदलीय-सर्वपक्षीय बैठकमा अतिक्रमित सार्वजनिक तथा सरकारी जग्ग साविककै अवस्थामा फिर्ता गराउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई परिपत्र गरेको थियो । गएको बैशाख ७ गतेको पत्र अनुसार स्थानीय प्रशासनले बाँकेका आठवटै पालिकालाई बैशाख ९ गते पत्र लेख्दै सार्वजनिक सरकारी प्रकृतिका जग्गा अतिक्रमण भएको भए जग्गाको विवरण र अतिक्रमणको प्रकृति समेत खुलाई ७ दिन भित्र जानकारी गराउन परिरपत्र गरेको थियो । गृह मन्त्रालयको पत्र र जिल्ला प्रशासनको पत्रलाई समेत आधार बनाएर कोहलपुर नगरपालिका र जिल्ला प्रशासन कार्यालयले नगर विकास समितिको नाममा रहेको कोहलपुर क्रिकेट मैदान क्षेत्रको अतिक्रमित जमिन तत्काल फिर्ता गराउने भएका हुन् । जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख सम्मिलित उक्त बैठकमा सहभागीहरुले सरकारी नाममा रहेको जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएकाले गृहप्रशासनले साथ दिनुपर्नेमा जोड दिए । उनीहरुले सरकारी जग्गा संरक्षण गर्नु गृहप्रशासनको समेत दायित्व भएकाले कसैको दवावमा नपरेर कानुन कार्यान्वयन गर्नमा जोड दिए ।
लुम्विनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले सरकारी जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताए । उनले गृहप्रशासनले त्यसमा साथ दिनुपर्नेमा जोड दिए । कानुन कार्यान्वयन गर्ने सवालमा व्यक्तिको अनुहार हेर्न नहुनेमा उनको जोड थियो ।
प्रदेशसभा सदस्य वसन्ती अधिकारीले पनि सरकारी जग्गा अतिक्रमणको चपेटामा पर्नु दुखद भएको बताइन् । उनले वास्तविक सुकुम्बासीहरुको व्यवस्थापन गरेर क्रिकेट मैदान क्षेत्रमा भएको सरकारी जग्गा अतिक्रमण हटाउनु पर्ने बताइन् ।
कार्यक्रममा सहभागी राजनीतिक दलहरुले समेत सरकारी जग्गा अतिक्रमणको चपेटामा पर्नु दुर्भाग्यपूर्ण भएको भन्दै अतिक्रमित वस्ती खोली गराउनुको विकल्प नभएको बताए ।
नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले निश्चित व्यक्तिको नाममा नगर विकासको जग्गा अतिक्रमण भइरहेको भन्दै त्यस्ता व्यक्तिको पहिचान गरेर गृहप्रशासनले कारबाही गर्नुपर्ने बताए । उनले सुकुम्बासीको नाममा केही राजनीतिक दलका निश्चित व्यक्तिहरुले फाइदा लिने काम गरिरहेको भन्दै अतिक्रमण हटाउने सवालमा स्थानीय सरकार र गृहप्रशासनलाई पार्टीको सहयोग हुने प्रतिवद्धता जनाए ।
नेकपा एमालेका कोहलपुर नगर अध्यक्ष कुल बहादुर भट्टराईले पनि अक्रिमित संरचना हटाउने सवालमा पार्टीको एक्यवद्धता रहेको जनाए । उनले अक्रिमित संरचना हटाउने सवालमा एमाले तयार रहेको बताए ।
रास्वपाका लुम्विनी प्रदेश विभाग प्रमुख डा.राजकुमार सुवेदी, नागरिक उन्मुक्ती पार्टीका केन्द्रीय सदस्य सुरेश कुमार चौधरी, राप्रपा नेपालका नगर अध्यक्ष प्रमात कुमार श्रेष्ठ, निवर्तमान नगर प्रमुख लुटवहादुर रावत, उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेल, पूर्वअध्यक्षहरु चक्र अधिकारी, चिन्तामणी धिताल, नमस्ते नेपाल यातायात प्रालिका अध्यक्ष निरज चलाउने, बागेश्वरी यातायात समितिका अध्यक्ष मन प्रसाद आचार्य लगायतले पनि अतिक्रमित संरचना हटाउनुपर्नेमा जोड दिए । उनीहरुले गृहप्रशासनले सहयोग गरे कोहलपुरका सम्वद्ध सरोकारवाला निकायहरु सरकारी जग्गा फिर्ता गराउन प्रतिवद्ध रहेको समेत बताए ।
बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल, प्रहरी प्रमुख तुलबहादुर कार्की, सशस्त्र प्रहरी बल ३० नं. गण नेपालगन्जका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी समेत सहभागी थिए । प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुकै उपस्थिति रहेको बैठकमा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले अतिक्रमित जग्गा खाली गर्न अव नगर विकास समितिलाई सहज भएको उल्लेख गरे । यो प्रक्रियामा सिंगो कोहलपुरबासी, राजनीतिक दल तथा अन्य पेशागत संघसंगठनहरुको समेत साथ अपरिहार्य रहेको बताए । क्रिकेट मैदान वरपर सात सय ५१ घर टहरा निर्माण गरिएका छन् । तीमध्ये भूमिहीन दलित १७ जिल्लाका एक सय ७२ घरधरी, १८ जिल्लाका एक सय ६३ घरधुरी भूमिहीन सुकुम्बासी र २७ जिल्लाका चार सय १६ घरधुरी अव्यवस्थित बसोबासी रहेका छन् । उक्त लगत अनुसार जग्गा जमिन भए नभएको बारे एकिन गर्दा भूमिहीन दलित ११ घरधरी र भूमिहीन सुकुम्बासी एक घरधुरीमात्रै रहेको पाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !