नौबस्ता कारागारको उद्घाटन


नेपालगन्ज – बाँकेको नौबस्तामा बनेको कारागारको उद्घाटन गरिएको छ ।
नौबस्तामा तीन हजार क्षमताको कारागार बन्दैछ । त्यसमा पहिलो चरणमा एक हजार क्षमताको भवन बनिसकेकाले त्यसको आज उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उद्घाटन गरे ।
कारागार भवनको उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले कारागारलाई सुधार गृहको रुपमा रुपान्तरण गर्ने प्रयास भइरहेको बताए । उनले कैदीबन्दीको आममाफीमा कुनै भेदभाव नगरिने दोहो¥याए । आर्थिक चलखेल र पहुँचका आधारमा माफी दिने गरेको गुनासो आएको बताउदै गृहमन्त्री लामिछानेले यस्तो सिफारिस नगर्न मातहतलाई निर्देशन दिए ।
नौवस्ता कारागारमा एक सय ३० जना कैदीबन्दीलाई सारिसकिएको छ । एक हजार जनालाई त्यहाँ लगिने छ । अब विस्तारै अन्य बन्दीलाई नौबस्तामा लगिने बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
नेपालगन्ज कारागारमा आठ सय बढी बन्दी छन् । अढाई सय क्षमताको कारागारमा झण्डै तीन गुणा बढी बन्दी छन् । देशभरकै कारागारको अवस्था यस्तै रहेको छ । नौबस्तामा तीन हजार क्षमताको कारागार र गनापुरमा बनेको खुल्ला कारागारले नेपालगन्ज कारागारमा रहेको कोचाकोचलाई राहत मिल्ने आशा गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !