भेटेरिनरी दिवसमा किसानलाई पशु कल्याण शिक्षा


नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाले भेटेरिनरी दिवसको अवसरमा सरोकारवालासँग पशु कल्याण तथा जुनोटिक रोगसम्बन्धी अन्तरक्रिया गोष्ठी गरेको छ ।
‘पशु चिकित्सकहरु आवश्यक स्वास्थ्यकर्मी हुन्’ भन्ने नारा रहेको दिवसमा नेपालगन्ज उपमहानगरपालिकाको पशु सेवा शाखाले सरोकारवालासँग पशु कल्याण तथा जुनोटिक रोगसम्बन्धी अन्तरक्रिया गोष्ठी गरेको हो ।
गोष्ठीमा पशु प्रजनन् कार्यालय, गौघाटका पशु विकास अधिकृत डा. मिलनकुमार चौधरीले पशु कल्याण र जुनोटिक रोगसम्बन्धमा सहजीकरण गर्नु भएको थियो । नेपालमा पशु कल्याणको निर्देशिका बनेपनि कानून बनेको छैन । सर्वोच्च अदालतले कानून बनाउन आदेश गरिसकेको छ । पशु कल्याणमा पशुलाई गरिने व्यवहार जोडिन्छ ।
डा. चौधरीले पशुबाट मान्छेमा र मान्छेबाट पशुमा सर्ने जुनोटिक रोगका बारेमा जानकारी दिनु भएको थियो । रेविज, ब्रुसेलोसिस, वर्डफ्लुलगायत रोगका बारेमा जानकारी दिइएको थियो । नेपालमा वर्षेनी तीन हजार दुई सय मान्छेलाई कुकुरले टोक्ने गर्दछ । त्यसमध्येमा दुई सय मानिसको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक गरिएको थियो । रेविज कुकुरसँगै नेउरीमुसा र चमेराले टोक्दा पनि लाग्ने गर्दछ । कुनै कुकुरले मान्छेलाई टोकेको छ भने त्यो कुकुरलाई ८–१० दिन बाँधेर राखेमा रेविज लागेको कुकुर हो भने मरिहाल्ने डा. चौधरीले जानकारी दिनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका पशु सेवा शाखाका प्रमुख लक्ष्मी शाही चन्दले भेनेरिनरी दिवसमा सरोकारवालालाई राखेर पशु कल्याणसम्बन्धी सचेतना गराइएको बताउनुभयो । गोष्ठीमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष गोविन्द रेग्मी, विभिन्न वडाका सदस्य, किसानको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !