यु–१३ छनोट फुटबलमा उत्साहजनक सहभागिता


नेपालगन्ज – बाँके जिल्ला फुटबल संघले गरेको यु–१३ छात्र–छात्रा फुटबल छनोट कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ ।
संघले शनिबार नेपालगन्जमा एक दिन छनोट कार्यक्रमको आयोजना गरेको थियो । सहभागी खेलाडीहरुको संख्या धेरै भएकाले छनोट कार्यक्रम आइतबार पनि गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनु भयो ।
अखिल नेपाल फुटबल संघको युवा विकास परियोजना अन्तर्गत २०८१ को लागि छनोट कार्यक्रम गरिएको हो ।
जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरको छनोटमा परेका खेलाडीहरुलाई एन्फा अन्तर्गतका विभिन्न टेक्निकल सेन्टरमा सञ्चालन भएका एकेडेमीमा रहेर फुटबल खेल्ने मौका मिल्नेछ । बाँकेमा भएको छनोट कार्यक्रममा २ सय १५ जनाको सहभागिता रहेको अध्यक्ष शाहीले बताउनु भयो । त्यसमा १ सय ८५ छात्र र ३० छात्रा खेलाडी रहेका छन् । पहिलो चरणको छनोटमा ८९ जना छात्र र ९ जना छात्रा खेलाडी छनोट गरिएको संघले जानकारी गराएको छ । आइतबार अन्तिम चरणको छनोट हुनेछ ।
शनिबार भएको छनोट कार्यक्रमले फुटबल विकासमा निकै उत्साह थपेको अध्यक्ष शाहीले बताउनु भयो ।
उहाँले भन्नुभयो,‘फुटबलमा बालबालिकाको क्रेज निकै राम्रो छ । यति धेरै सहभागिता हुन्छ भन्ने हामीले सोचेको थिएनौं । अभिभावकहरुले आफना बालबालिकालाई फुटबल खेलाउन निकै चासो दिनु भएको छ । यसले भविष्यमा हाम्रो फुटबलको स्तर र राम्रा खेलाडी उत्पादनमा सहयोग गर्नेछ ।’
नेपालगन्ज रंगशालमा धेरै पछि फुटबलको गतिविधि भइरहेको बताउँदै अध्यक्ष शाहीले बाँकेमा अब फुटबलको लोकप्रियता फेरी बढ्न थालेको बताउनु भयो ।
पछिल्लो समय बाँके जिल्ला फुटबल संघले सक्रिय भएर गतिविधिहरु सञ्चालन गरिरहेको छ । संघले कोभिड–१९ पछि पहिलो पटक गत माघ महिनामा मेयर कप अन्तर विद्यालय छात्र–छात्र फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।
जुन प्रतियोगितामा बाँके जिल्लाका विभिन्न विद्यालयबाट तिन दर्जन विद्यालय सहभागिता रहेको थियो ।
फागुनमा संघले कैलाली जिल्लाको मेयर कप फुटबलको पूर्व विजेता गुरुकुल इङलिस र बाँकेको मेयर कप फुटबलको विजेता टिम नेपालगन्ज सेन्ट जेभियर्स छात्र टिम बिच मैत्रीपूर्ण फुटबलको आयोजना गरेको थियो ।
समुदाय स्तरबाट फुटबलका प्रतिभावान खेलाडी उत्पादन गर्न महत्वपूर्ण खेल्ने प्रशिक्षकहरुको लागि संघले समेत कार्यक्रम गरेको थियो ।
अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य समेत रहनु भएका शाहीका अनुसार संघले चैतको ६ देखि ९ गते सम्म  नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्षको आयोजना गरेको थियो । जहाँ बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, डोटी, कालिकोट, काठमाडौं लगायतका जिल्लाबाट ४३ जना प्रशिक्षकको सहभागिता रहेको थियो ।
नेपालगन्जमा रंगशालामा दुई दिन सम्म भएको छनोट कार्यक्रमबाट छानिएका खेलाडीहरुलाई प्रदेश स्तरको छनोटमा समावेश गराईनेछ ।


error: यो सुविधा उपलब्ध छैन !