सात महिनामा ५ सय ३९ क्षयराेगी थपिए

नेपालगञ्ज – नेपालमा क्षयरोगबाट हुने मृत्युदर ३ प्रतिशत रहेको छ । विश्व क्षयरोग दिवसका अवसरमा आज नेपालगञ्जमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशमा ३.३ र बाँकेमा २.८ प्रतिशत क्षयरोगबाट हुने मृत्युदर रहेको तथ्यांक प्रस्तुत गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका क्षयरोग फोकलपर्सन रविन्द्रकुमार साहका अनुसार, नेपालबाट सन् २०५० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य छ भने सन् २०३५ सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

क्षयरोगीहरुको उपचारका लागि नेपालमा स्थापना गरिएका डट्स सेन्टरको संख्या ६२०९ छ । यी सेन्टरबाट नियमित उपचार चलिरहेको छ । लुम्बिनी प्रदेशमा यो संख्या ९०२ रहँदा बाँकेमा ८७ वटा डट्स सेन्टर छन् । साहका अनुसार, मुलुकभर जीर्ण क्षयरोग सेन्टर २४, लुम्बिनीमा ४ र बाँकेमा १ वटा छन् ।

बाँकेमा ५३९ क्षयरोगी थपिएका छन् । चालू आर्थिक वर्षको सात महिनामा मात्रै जिल्लामा ५३९ जना क्षयरोगी थपिएको स्वास्थ्य कार्यालय, बाँकेका क्षयरोग फोकलपर्सन साहले जानकारी दिए । चालू आर्थिक वर्षमा क्षयरोग पुष्टि भएका मध्ये ६ जना एचआइभी पोजिटिभ रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा बाँकेमा १ हजार १ सय २ जना क्षयरोगी पत्ता लागेको साहले बताए । ती क्षयरोगी मध्ये ५ जनामा एचआइभी पोजिटिभ समेत रहेको थियो ।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अंगदबहादुर शाहीले क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको बताए । ‘क्षयरोगबारे सचेत बनाउन सकियो भने नियन्त्रणमा लिन सहज हुन्छ’, शाहीले भने । प्रमुख शाहीको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । त्यसक्रममा स्वास्थ्य कार्यालय बाँकेका नसर्ने रोग फोकलपर्सन नरेश श्रेष्ठ र टिबी नेपालका कमल ढकालले प्रस्तुतिकरण गरेका थिए ।

स्वास्थ्य कार्यालयकी मलेरिया निरीक्षक दुर्गा गौतमले संचालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !