मेरुदण्ड राेगसम्बन्धी कार्यशाला

नेपालगञ्ज – नेपालगन्जस् एसोसियसन अफ स्पाइन सर्जन अफ नेपालले नेपालगगञ्जमा आयोजना गरेको एकदिने कार्यशाला शनिबार सकिएको छ । देशका विभिन्न शहरहरुमा कार्यरत स्पाइन सर्जन, अर्थोपेडिक सर्जन, एनेस्थियोलोजिष्ट, रेडियोलोजिष्ट, न्युरो सर्जनहरुको सहभागितामा नेपालगञ्ज मै पहिलोपटक मेरुदण्ड रोग सम्बन्धी कार्यशाला आयोजना गरिएको थियो ।

सम्मेलनमा मेरुदण्डको चोट,चोटपटकको उपचार लगायत स्पाइनका विभिन्न समस्यामा केन्द्रित रहेर छलफल तथा प्यानल डिस्कसनहरु गरिएको एसोसियसन अफ स्पाइन सर्जन अफ नेपालका लुम्बिनी प्रदेश संयोजक डा. प्रकाशबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँले कार्यशालाको उद्देश्य खासगरी उपचार पद्दतिमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदान साथै राजधानी बाहिर पनि मेरुदण्ड रोगको उपचारका लागि पर्याप्त सेवा सुविधा होस् भन्ने हेतुले चिकित्सकहरूलाई तालिम दिएर समस्यालाई एड्रेस गर्ने रहेको बताउँनुभयो । स्पाइनका शल्यक्रियामा आउने जटिलताहरुलाई भविष्यमा कसरी सामना गर्ने भन्ने विषयमा समेत कार्यशालामा छलफल गरिएको थियो ।

मेरुदण्डको समस्या र उपचारका क्षेत्रमा आएका नविन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे कार्यशालामा बृहत छलफल गरिएको आयोजकले जानकारी दिएको छ । कार्यशालामा दर्जन बढी चिकित्सकहरुले आफुले गरेका विभिन्न केसहरुको प्रस्तुतिकरण साथै विभिन्न विषयमा प्यानल डिस्कसन समेत गरेका थिए । मेरुदण्ड रोग सम्बन्धी आयोजित कार्यशालाले पश्चिम नेपालका स्पाइनका विरामीलाई लाभान्वित बनाउने आयोजकले विश्वास लिएको छ ।

कार्यशालामा एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका पूर्वअध्यक्ष डा. विमलकुमार पाण्डे, महासचिव डा. सुरज बज्राचार्य, साइन्टिफिक कमिटीका डा. गौरवराज ढकाल लगायत उपस्थित हुनुहुन्थ्यो । नेपाल अर्थोपेडिक एसोसियसन वेष्टर्न च्याप्टरले सहकार्य गरेको कार्यशालामा देशभरबाट ६० बढी चिकित्सकहरूले सहभागिता जनाएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !