सबै पालिकामा कांग्रेसकाे प्रशिक्षण

नेपालगञ्ज – नेपाली कांग्रेस बाँकेले जिल्लाका आठ वटै पालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
नेपाली कांग्रेस, बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा शुक्रबारदेखि सुरु भएको एक दिने पालिका स्तरीय प्रशिक्षण कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा सम्पन्न भएको छ ।

पहिलो चरणमा गाउँ केन्द्रित प्रशिक्षण अभियान सञ्चालन गरिसकेको कांग्रेस बाँकेले दोस्रो चरणको प्रशिक्षण कार्यक्रम पालिका स्तरमा सुरु गरेको हो । यसअघि गत असोजमा बाँकेका ८१ वटै वडाका सभापतिलाई प्रशिक्षण दिइएको थियो । ‘सचेत र जागरुक’ कार्यकर्ता उत्पादन तथा जनसरोकारका सवालमा पार्टीलाई अग्रसर बनाउने नीति अनुरुप प्रशिक्षण कार्यक्रम गरिएको कांग्रेस बाँकेका कार्यवाहक सभापति एवम् प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधिकारीले बताए । उनले तल्लो तहसम्म पार्टीको वैचारिक धारलाई सशक्त बनाउँदै संगठनलाई मजबुत बनाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताए । “तल्लो तहसम्म कांग्रेसको सुनौलो र गर्विलो इतिहासलाई पुनर्ताजगी गर्दै वर्तमान राजनीतिक परिवेशमा पार्टीको नीति र सिद्धान्त तथा समसामयिक घटनाक्रमका बारेमा साथीहरूलाई प्रशिक्षित गर्दैछौं,” अधिकारीले भने-“हामीलाई विश्वास छ यसले पार्टी जीवनमा नवीन उर्जा र तरंग पैदा गर्नेछ ।”

प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले लोकतन्त्र, स्वतन्त्रता र सामाजिक न्यायको लडाइँमा कांग्रेसको सुनौलो इतिहास, नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख भुवन श्रेष्ठले कांग्रेसको इतिहास, आदर्श र सिद्धान्त, प्राध्यापक एवं अधिवक्ता गुणनिधि शर्माले नेपाली कांग्रेस-प्रजातन्त्र र समाजवाद तथा प्रशिक्षक तिर्थ पौडेलेले जनसरोकारका सवाल, पार्टी संगठन, विकास, योजना, सञ्चार र कार्यसम्पादन लगायतका विषयमा प्रशिक्षण दिइरहेको अधिकारीले जानकारी दिए ।

आइतबार नेपालगञ्जमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । सहमहामन्त्री पाण्डे, लुम्बिनी प्रदेश उपसभापति श्रेष्ठ, प्राध्यापक शर्मा र पत्रकार शुक्रऋषि चौलागाईले प्रशिक्षण दिएका थिए । त्यसअघि शुक्रवार कोहलपुर र शनिबार राप्तीसोनारीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । अन्य पालिकाहरुमा पनि लगातार प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखा सचिव उमा थापा मगरले जानकारी दिइन् । थापाका अनुसार, सोमबार खजुरा र मंगलबार बैजनाथमा प्रशिक्षण कार्यक्रम तय भएको छ । प्रशिक्षण कार्यक्रममा पालिका र वडा तहका विभिन्न पदाधिकारीहरुको सहभागी छ । प्रशिक्षार्थीलाई प्रमाणपत्र पनि वितरण गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !