उपमहानगरपालिकाले किन गर्दैन स्वास्थ्य संस्थाको अनुगमन ?

नेपालगञ्ज उपमहानगरपालिकाकाे टाेलीकाे न्यूराे अस्पताल अनुगमनपछिकाे फाेटाे ।

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य संस्थाको अनुगमन गर्न तदारुकता देखाएको छैन । उपमहानगरपालिकाले अनुगमन नगर्दा कतिपय चलेका स्वास्थ्य क्लिनिक बिना दर्ता नै चलेका छन् भने धेरैको नविकरण भएको छैन ।
नेपालगञ्ज उपहानगरपालिकाले स्वास्थ्य ऐन र कार्यविधि बनाएको छ । त्यसमा १५ बेडसम्मको अस्पताल, पोलिक्लिनिक, स्वास्थ्य क्लिनिक, डी र सी ग्रेडका प्रयोगशालाको अनुगमन नियमन गर्नेदेखि दर्ता र नविकरणसम्म गर्न सक्छ ।
नेपालगञ्जमा १५ बेडका आधा दर्जन अस्पतालदेखि एक सय ५० बढी स्वास्थ्य संस्था छन् । त्यसमध्येमा अहिलेसम्म चार वटाको मात्रै नविकरण भएको छ । कृपा, सेन्ट्रल सिटी, बैष्णवी अस्पताल र सुपर अल्ट्रासाउण्डको नविकरण भएको छ । न्यूरो अस्पतालको अनुगमन गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले अनुगमन नगरी नविकरण गर्दैन । तर, उपमहानगरपालिका अनुगमन गर्न नै जादैन । कतिपय अस्पताल र क्लिनिकका अधिकारीले नविकरण गर्न आइदिनु प¥यो भनेर निवेदन दिएका छन् ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा दुई पटक मात्रै अनुगमन गरेको छ । एक पटक चार वटा संस्थाको अनुगमन गरेर नविकरण गरेको छ भने अर्को पटक न्यूरो अस्पतालको अनुगमन गरेको छ । नेपालगञ्जमा धेरै चलेका स्वास्थ्य क्लिनिक दर्ता बिना नै चलेको पाइन्छ । उपमहानगरपालिकाको नजर त्यसतर्फ गएको छैन । स्रोतका अनुसार, प्रमुख प्रशासकीय अधिकृतले नै अनुगमन गर्न चासो देखाइरहेका छैनन् । प्रमुख प्रशासकीय अधिकृत आफू अनुगमनमा नजाने र अरुले अनुगमन गरेर ल्यायो भने हस्ताक्षर पनि नगर्ने स्वभावको रहेको निकटस्थ बताउँछन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले स्वास्थ्य संस्थाको अनुगमन भइरहेको बताउनुभयो । ‘अनुगमन गर्न आउनु भनेर निवेदन दिने वित्तिकै जाने पनि हुँदैन । हामीले अनुकुल मिलाएर अनुगमन गरिरहेका छौं, चन्दले भन्नुभयो, उपमहानगरपालिकाले अनुगमन गरेर नविकरण गर्छ ।’


error: यो सुविधा उपलब्ध छैन !