सूर्तीजन्य पदार्थ बोकेर नेपालगञ्ज उपमहानगरपालिकाभित्र जान नपाइने !


नेपालगञ्ज – सूर्ती, गुट्खा वा पान मुखमा च्यापिरहने बानी छ ? यदि छ भने नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा आउदा फालेर आउनु होला । नत्र, कारबाहीमा पर्नु होला नि ।
नेपालगञ्ज उपमहानगरपालिकाले सूर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि शुरुवाती चरणमा कार्यालयभित्र प्रवेश गर्नेलाई कडाई गर्ने भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा आउने सेवाग्राहीलाई प्रवेशद्वारमा नगर प्रहरीले जाँच गर्ने र मुखमा सूर्तीजन्य पदार्थ खाइरहेको छ भने नजिक राखेको डष्टविनमा थुक्न लगाएर मुख कुल्ला गरेर भित्र पठाउने, गोजीमा राखेको छ भने फाल्न लगाउने रणनीति बनाइएको छ । यदि कोही सूर्तीजन्य पदार्थ बोकेर भित्र पसेको छ भने उसलाई शुरुमा चेतावनी दिने र फेरि पनि फेला परेमा सय रुपैया जरिवाना गर्ने तयारी गरिएको छ ।
नेपालगञ्जको मेयर प्रशान्त विष्टले सूर्तीजन्य पदार्थ रोकथामका लागि शुरुमा उपमहानगरपालिका कार्यालयभित्र आउनेलाई कडाई गर्न थालेको बताउनुभयो । ‘अब हामी सूर्तीजन्य पदार्थ खाइरहेर वा गोजी राखेर भित्र पस्न दिदैनौ, मेयर विष्टले भन्नुभयो, शुरुमा नगर प्रहरीलाई गेटमा राखेर सचेतनाका लागि जाँच गर्छौ । त्यो चरण सकिएपछि कारबाहीमा जान्छौं ।’
उपमहानगरपालिकाले राखेको सूर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमित सम्बन्धको बैठकमा मेयर विष्टले चैत्रसम्म सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि सचेतनामूलक कार्यक्रमहरु गर्ने र बैशाख १ गतेदेखि कारबाहीको चरणमा जाने बताउनुभयो ।
हुन त अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामै सूर्तीजन्य पदार्थ रोकथामको बोर्ड लगाइएको छैन । सूचना टाँसिएको छैन । उपमहानगरपालिकाले तत्कालै बोर्ड राख्ने र सार्वजनिक स्थलको सय मिटर वरिपरि सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नदिने रणनीति बनाइएको छ ।
सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि पर्याप्त कानून छ । तर, कार्यान्वयन हुन सकेको छैन । नियन्त्रण र नियमनका लागि प्रचार प्रसार पनि हुन सकेको छैन । यस सम्बन्धमा नयाँ ऐन बन्दैछ । नयाँ ऐनमा सार्वजनिक स्थलको दुई सय मिटर वरपर सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने तयारी गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !