मजदुरको बीमा गर्दै धम्बोझी वडा कार्यालय
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ को कार्यालयले विपन्न मजदुरको बीमा गरिदिने भएको छ ।
वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको एक लाखसम्मको म्यादी लघुजीवन बीमा गरिदिन थालेको हो । त्यसका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरिएको छ ।
वडासचिव भुविन्द्रप्रसाद कँडेल, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स नेपालगञ्जका प्रवन्धक लक्ष्मी विष्टको उपस्थितिमा वडाध्यक्ष प्रमोद रिजाल र इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक विमल खड्काले मंगलबार सम्झौता गरेका हुन् ।
सम्झौता अनुसार, १८ वर्षदेखि ५५ वर्षका मानिसको बीमा गरिने छ । १८ वर्ष उमेरको हकमा २ सय ७९ रुपैया र ५५ वर्षको उमेरको एक हजार एक सय ३५ रुपैया तिरेर बीमा हुन्छ । विपन्न वर्गका कामदारको वडा कार्यालयले रकम तिरेर बीमा गरिदिने वडाध्यक्ष रिजालले जानकारी दिनुभयो ।
एक लाखको जीवन बीमामा दुर्घटना भएर बिमितको मृत्यु भएमा उसका परिवारले दुई लाख रुपैया र क्रियाखर्च २५ हजार पाउने इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक खड्काले बताउनुभयो । यो बीमा एक वर्षको लागि हुनेछ । अर्को वर्ष गर्न चाहेमा फेरि बीमा गर्नुपर्दछ ।