खजुरामा अन्तर विद्यालयस्तरीय रनिङ शिल्ड शुरु
खजुरा – बाँकेको खजुरामा आइतबारदेखि पालिका स्तरीय छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।
आइतबार एक समारोहका बिच संघीय सांसद एवम् नेपाली कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले प्रतियोगिताको उद्घाटन गर्नु भयो ।
गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफानको अध्यक्षतामा भएको रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सभासद एवम् संविधान सभा सदस्य बादशाह कुर्मी र प्रदेश सभासद रत्न खत्री सहभागि हुनु भएको थियो ।
उद्घाटन समारोहमा खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले स्वागत मन्त्व्य राख्नु भएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै संघीय सांसद राठौरले खजुराको विकास निम्ति आफु इमानदार भएर लागिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यस क्षेत्रका जनतालाई म धन्यवाद दिन चाहन्छु । मलाई विश्वास गरेर विजयी गराउनु भएको छ । म तपाईहरुको विश्वासलाई टुटन दिने छैन । यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पुर्वाधारको विकासको लागि काम गरिरहेको छु ।’
प्रदेश सभासद कुर्मी र खत्रीले खजुरा क्षेत्र खेलकुदका क्षेत्रमा उर्वर क्षेत्र भएको भन्दैं खजुराको विकास लागि सहकार्य गरेर काम गर्ने बताउनु भयो ।
खजुरा गाउँपालिका वडा नम्बर २ स्थित शुक्र भलिबल रंगशालामा भैरहेको प्रतियोगिता माघ १० गते सम्म चल्नेछ ।
प्रतियोगितामा खजुरा गाउँपालिका भित्र रहेका निजी तथा संस्थापक गरी ७९ विद्यालयका १ हजार ३ सय ४ जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।
खजुरा गाउँपालिका खेलकुद विकास समिति बाँकेको आयोजना, जनता नमुना माध्यमिक विद्यालयको संचालन तथा व्यवस्थापनमा प्रतियोगिता हुन लागेको प्रतियोगितामा माध्यमिक तह, प्राथमिक तह र आधारभुत तह गरी तिन तहमा ४६ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
१५ लाख ५३ हजार ६ सय अनुमानित बजेट रहेको प्रतियोगिताको माध्यमिक र प्राथमिक तहमा प्रथम हुने विद्यालयले ३३ हजार, दोस्रो हुनेले २० हजार र तेस्रोले १४ हजार रुपैयाँ पुरस्कार पाउनेछ । भलिबल, कबड्डी र एथ्लेटिक्स तर्फ उत्कृष्ट छात्रा–छात्राले जनही ५ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको प्रशासनिक एवम व्यवस्थापकीय कार्यलाई व्यवस्थित गर्न माधव शर्माको संयोजकत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको छ ।