नेपालगञ्जमा राष्ट्रपति रनिङ शिल्ड शुरु


नेपालगञ्ज – नेपालगञ्जमा आजदेखि छैटौंं विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट तथा मेयर कप खेलकुद प्रतियोगिता शुरु भएको छ ।
तीन दिनसम्म चल्ने प्रतियोगिता नेपालगञ्जस्थित मंगलप्रसाद माविको खेल मैदानमा आयोजना गरिएको छ । प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारकी सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री नमुनाले मानिसको शारीरिक र मानसिक विकासका लागि खेलकुद महत्वपूर्ण कडी भएको बताउँदै विद्यालयस्तरमा हुने यस्ता खाले प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुर्याउने बताउनुभयो । उद्घाटन समारोहको सभाध्यक्षता ग्रहण गरेका नगर प्रमुख प्रशान्त विष्टले खेलकुद अनुशासन, संस्कार र बृत्ति विकासको आधार भएको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल लगायतले सम्बोधन गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा प्रमुख अतिथि नमुना र सभाध्यक्ष विष्टलाई विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्चपास गर्दै सलामी अर्पण गरेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना एवम् प्याब्सन नेपालगञ्जको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका ४२ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिता उद्घाटन अघि आज विहान नगरमा प्रभातफेरि निकालिएको थियो । प्रभातफेरिमा महिलाहरुले पञ्जेबाजा समेत बजाएका थिए । विभिन्न विद्यालयका विद्यार्थी सम्मिलित प्रभातफेरिमा नगर प्रमुख विष्ट, शिक्षा महाशाखा प्रमुख थापा लगायत आयोजक, व्यवस्थापक, शिक्षक र सरोकारवाला सहभागी    थिए ।

यसैबीच मार्च पासमा सगरमाथ इंग्लिश स्कूल प्रथम, जय बागेश्वरी र जिभिएन द्वितीय र नेरा मावि कण्ठीपुर तृतीय भएको प्याब्सन जिल्ला सदस्य प्रविण गिरीले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !