अब राससमा अवधि भाषाको समाचार


नेपालगञ्ज – राष्ट्रिय समाचार समिति (रासस) ले नेपालगञ्जबाट अवधि भाषा समाचार सेवाको शुरुवात गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, राससका अध्यक्ष धर्मेन्द्र झा, महाप्रवन्धक सिद्धराज राई, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं वरिष्ठ साहित्यकार सनत रेग्मीलगायतले नेपालगञ्जबाट अवधी भाषा समाचारको शुभारम्भ गर्नुभयो ।
सो अवसरमा वक्ताहरुले सबै भाषाभाषीको उत्तिकै सम्मान गर्दै अघि बढ्नु पर्नेमा जोड दिए । राससका अध्यक्ष झाले पत्रकारिता गर्ने भाषा नै अगाडि आउने भएकाले सबै भाषालाई व्यापक बनाउन पत्रकारितामा जोड्नु पर्ने बताउनुभयो । उहाँले भाषा जोगाउन पत्रकारिताको ठूलो महत्व रहेको र भाषाको विकास हुँदा समाजको विकास हुने बताउनुभयो । अध्यक्ष झाले कार्यक्रमलाई दीर्घकालिन बनाउन अवधि समाजलाई जोड्नु पर्ने बताउदै अर्थ, जनशक्ति अभाव चुनौतीको विषय रहेको दोहो¥याउनुभयो । झाले राससलाई चौविस घण्टे सेवा दिने बनाउने तयारी रहेको जानकारी दिदै छिट्टै भोजपुरीमा सेवा शुरु गर्ने बताउनुभयो ।
नेपालगञ्जका मेयर विष्टले कला, साहित्य र संस्कृतिको विकास गर्न आफूहरु लागि परेको र त्यसकै एउटा कडी अवधि भाषाको समाचार रहेको बताउनुभयो । उहाँले आफ्नो पहिचान जोगाउनका लागि भाषाको संरक्षण आवश्यक रहेको बताउनुभयो ।
राससका महाप्रवन्धक राईले राससलाई साझा थलोको रुपमा विकास गर्दै अघि बढेको बताउनुभयो ।
प्राज्ञ एवं वरिष्ठ साहित्यकार रेग्मी, अवधि भाषी साहित्यकार विष्णु कुमाल, पत्रकार झलक गैरेले नेपालगञ्जबाट अवधि भाषाको समाचार शुरुवात गर्नुलाई स्वागत गर्दै यसको निरन्तरताको लागि शुभकामना दिनुभयो ।
अवधि भाषा समाचारका सम्पादक राकेश मिश्रले सञ्चालन गरेको कार्यक्रममा रासस नेपालगञ्जका प्रमुख युवराज पाण्डेले स्वागत गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !