वित्तीय सुशासन कायम गर्न सहकारीलाई लेखापालन तालिम

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीहरुमा वित्तीय सुशासन कायम गर्ने उद्देश्यले सहकारी लेखापालन तालिम दिन शुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाको आयोजनामा आजदेखि सात दिने तालिम शुरु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका सहकारीका लेखा कर्मचारीहरुलाई तालिम दिन शुरु गरिएको हो । ४० वटा सहकारीका ४० जना लेखा कर्मचारीहरुलाई तालिम दिन थालिएको सहकारी शाखा प्रमुख प्रविण रानाले बताए । तालिमको नेपालगञ्ज उपमहानगरपालिका आर्थिक विकास समिति संयोजक गोपाल पुनले उद्घाटन गरेका थिए । उनले सहकारीहरुको लेखा पाटोलाई व्यवस्थित बनाउन तालिम लाभदायी हुने विश्वास व्यक्त गरे ।

सहकारीहरुको वित्तीय सुशासन कायम गर्ने, पछिल्लो समय गुम्दै गएको सहकारीप्रतिको विश्वास पुनः जागृत गर्ने, लेखा व्यवस्थित राख्न सहयोग गर्ने तथा नयाँ सहकारीलाई लेखा व्यवस्थापनसम्बन्धि आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको सहकारी शाखा प्रमुख रानाले बताए ।

तालिममा नेपालगञ्ज उपमहानगरपालिकाका लेखा अधिकृत राजनकुमार केसी, सहकारी शाखा प्रमुख प्रविण राना, जिल्ला सहकारी संघ बाँकेका प्रबन्ध सञ्चालक नवराज उपाध्याय र नेप्स्कुन बाँकेका कार्यालय प्रमुख छत्रप्रसाद धमालाले प्रशिक्षण दिने सहकारी शाखाकी तुलसा पन्थी आचार्यले बताइन् ।


error: यो सुविधा उपलब्ध छैन !