लुम्बिनीमा बाँकेबाट सिकलसेल विरामीको स्वास्थ्य बीमा शुरु


नेपालगञ्ज – लुम्बिनी प्रदेशमा सिकलसेल बिरामी र उनका परिवारको स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । त्यसको शुरुवात बुधबार बाँकेबाट गरिएको छ ।
प्रदेश सरकारले लुम्बिनीमा सिकलसेल, थालेसेमिया र हेमोफिलिया रोगका बिरामी र उनका परिवारको स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो । थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखा परेको सिकलसेल, थालेसेमिया र हेमोफिलिया रोगका बिरामी र उनका परिवारलाई अब एक लाखसम्मको औषधी र उपचारको व्यवस्था गरिने भएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ४, बैजापुरमा रहेको अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गर्नुभयो ।
स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, राप्तीसोनारी गाउँपालिकामा ३३ जना बिरामी छन् । बाँकेमा सय जना बढी सिकलसेलका बिरामी छन् । बिरामी र उनका ६ जनासम्म परिवारलाई स्वास्थ्य बीमा समेट्ने श्रेष्ठले बताउनुभयो । ‘बीमाका लागि तीन हजार पाँच सय रुपैया तिर्नु पर्छ । त्यो रकम प्रदेश सरकारले तिरिदिन्छ । पैतिस सय तिरेपछि बिरामी र उनका ६ जना परिवारले एक लाखसम्मको औषधी र उपचार निशुल्क पाउँछन्, फोकलपर्सन श्रेष्ठले भन्नुभयो, यसले पनि बिरामी र उनका परिवारलाई ठूलो राहत दिन्छ ।’
लुम्बिनी प्रदेशका ६ वटा जिल्लामा यो कार्यक्रमको शुरुवात भएको छ । बाँके, बर्दिया, दाङ, कपिलबस्तु, रुपन्देही र नवलपरासी जिल्लामा यो कार्यक्रम शुरु गरिएको छ ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी, सांसदहरु सञ्जु चौधरी, सुशीला नेपाली, माया पुन, मिना सिद्धिकी, भेरी अस्पताल, नेपालगञ्जका अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहलगायतको उपस्थिति रहेको थियो ।
सिकलसेल बंशाणुगत रोग हो । प्रायः थारु समुदायमा देखिएको यो रोगलाई रोक्नका लागि फरक समुदायसँग विवाहवारी गर्नुपर्ने विज्ञहरुले सुझाव दिने गरेका छन् । सिकलसेलका ज्ञाता मानिएका भेरी अस्पतालका फिजिसियन डा. राजन पाण्डेले थारु समुदायका युवा युवतीले विवाह गर्नुअघि सिकलसेल जाँच गर्न सुझाव दिनुभयो । ‘सिकलसेल वा बाहक छ भने उसले त्यो नभएका अर्का समुदायबाट विवाह गर्दा सिकलसेल बच्चामा सर्ने संभावना रहदैन, डा. पाण्डेले भन्नुभयो, यो रोगबाट बच्ने यहीमात्रै उपाय हो ।’
विगतमा औलोको महामारी हुँदा तराईमा त्यसलाई सहेर बसेका थारुमा सिकलसेल देखिने गरेको जानकारहरु बताउँछन् । स्वास्थ्य कार्यालय, बाँकेले गाउँगाउँमा पुगेर थारु समुदायका बालबालिकामा सिकलसेल भए नभएको परीक्षण गर्ने र भएकाहरुलाई विहेवारी गर्दा ध्यान दिन सल्लाह दिने गरेको छ ।
सरकारले सिकलसेललाई जनस्वास्थ्य समस्याको रुपमा मान्दै निशुल्क जाँच र उपचारको व्यवस्था मिलाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !