‘टुर दि ठाकुरद्वारा’को सचिवालय उद्घाटन


नेपालगञ्ज – नेपालगञ्जमा ‘टुर दि ठाकुरद्वारा’को सचिवालय उद्घाटन गरिएको छ ।
नेपालगञ्ज साइक्लिङ क्लवले हरेक वर्ष आयोजना गर्ने टुर दि ठाकुरद्वाराको सचिवालय संघीय सांसद डा. धवलशमशेर राणाले उद्घाटन गर्नुभयो ।
टुर दि ठाकुरद्वारा माघको २६ र २७ गते आयोजना हुँदैछ । टुर दि ठाकुरद्वाराले बाँके र बर्दियामा रहेका धार्मिक, पर्यटकीयस्थल तथा संस्कृतिको प्रचार प्रसार गर्ने गर्दछ । संघीय सांसद डा. राणाले नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म हुने साइकलयात्राजस्तै रारासम्म जाने गरी कार्यक्रम गराउन सके पर्यटन प्रवद्र्धनमा अझ टेवा पुग्ने बताउनुभयो ।
टुर दि ठाकुरद्वाराको यो छैठौ संस्करणमा नेपाल र भारतका गरी करिव तीन सय साइकल यात्रीको सहभागिता रहने क्लवका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिनुभयो । टुर दि ठाकुरद्वारा अघि नेपालगञ्जमा १२ वर्षमुनिका बच्चालाई लक्षित गरी किड्स रेस, कन्जरभेसन टक, रक्तदान गर्ने कार्यक्रम रहेको छ । टुर दि ठाकुरद्वारामा सहभागी हुन आएका नेपाल र भारतका प्रतिनिधिलाई नेपालगञ्जमा बागेश्वरी मन्दिरको दर्शन, टाँगा सफारी, बाँके राष्ट्रिय निकुञ्जमा सफारी, यहाँको रैथाने खाना खुवाउने, बर्दियामा थारु संस्कृतिको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।
टुर दि ठाकुरद्वारामा साइकलयात्रासँगै पर्यटन, पर्यापर्यटन, वन्यजन्तु संरक्षण, धर्म र संस्कृतिको विषयमा छलफल हुने क्लवका निवर्तमान अध्यक्ष सतिश निरौलाले बताउनुभयो । टुर दि ठाकुरद्वाराको पहिलो र दोस्रो संस्करणमा दुई जना अष्टे«लियन नागरिकले पनि भाग लिएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !