नौवस्ता बाल सुधार गृहमा झडप


नेपालगञ्ज – बाँकेको नौवस्तामा रहेको बाल सुधार गृहमा झडप भएको छ । झडपमा परेर एक जना गम्भीर घाइते भएका छन् भने सरकारी गाडी तोडफोड गरिएको छ ।
आइतबार दिउँसो साढे एक बजेदेखि बाल सुधार गृहमा झडप भएको थियो । दुई पक्षका बीचमा भएको झडपमा असिम रावल घाइते भएका छन् । उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा ल्याइएको छ ।
झडपका क्रममा केही सरकारी गाडी पनि तोडफोड भएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी र कारागार प्रशासनको गाडी तोडफोड भएको बताइएको छ । झडपका क्रममा आधा दर्जन बन्दी भागेको आकलन गरिएको छ । प्रहरी प्रशासन भित्र जान नसकेकाले यसबारेमा यकिन हुन सकेको छैन ।
बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बालबन्दीका बीचमा झडप भएको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको बताउनुभयो । बाल सुधार गृह वरिपरि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । बालबन्दीसँग वार्ताको प्रयास भइरहेको छ । झडपमा उत्रिएका बालबन्दीहरु वार्ता गर्न चाहिरहेका छैनन् ।
नौवस्ता बाल सुधार गृहमा एक सय १६ जना बालबन्दी रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !