सय जना महिला र दश जना पुरुषको बन्ध्याकरण
नेपालगञ्ज – स्वास्थ्य कार्यालय, बाँकेले जिल्लाका पालिकाहरुमा सञ्चालन गरेको स्थायी बन्ध्याकरण शिविरमा दश जना पुरुषले बन्ध्याकरण गरेका छन् । मंसिर १४ गतेदेखि सञ्चालन गरिएको शिविरमा एक सय दश जनाले बन्ध्याकरण गर्दा सय जना महिला रहेका छन् । जानकी गाउँपालिकामा र डुडुवामा पुरुषले बन्ध्याकरण नै गरेका छैनन । जानकीमा १५ जना महिला र डुडुवा गाउँपालिकामा ७ जना महिलाले बन्ध्याकरण गरेका छन् ।
खजुरा गाउँपालिकामा १९ जनाले बन्ध्याकरण गर्दा १८ जना महिला थिए । एक जना पुरुषले भ्यासेक्टोमी गरेका छन् । बैजनाथ गाउँपालिकामा सात जनाको बन्ध्याकरण गर्दा ५ जना महिला र दुई जना पुरुष रहेका छन् । कोहलपुर नगरपालिकामा २० जनाको बन्ध्याकरण गरिएको थियो । त्यसमा १८ महिला र दुई पुरुष थिए । नरैनापुर गाउँपालिकाको गंगापुरमा ११ जनाको अप्रेसन गरिएकोमा ८ महिला र तीन पुरुष थिए । राप्तीसोनारी गाउँपालिकाको कमैयाडाडामा १६ जनाको बन्ध्याकरण गर्दा १५ महिला र एक पुरुष तथा बैजापुर अस्पतालमा गरिएको शिविरमा १५ जनाले बन्ध्याकरण गरेकोमा १४ जना महिला थिए ।
निशुल्क गरिएको शिविरमा मिनिल्याप (महिलाको अप्रेसन) बढी भएको छ । स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन देवनारायण उपाध्यायले पुरुषले बाहिर गएर काम गर्नुपर्ने भएको र अप्रेसन गर्दा कमजोर हुन्छ भन्ने मानसिकता देखिएकाले महिलाको बढी बन्ध्याकरण भएको बताउनुभयो ।