विरुवा काटिएपछि उपमहानगरपालिका प्रहरीमा


नेपालगञ्ज – विद्युत कार्यालयका कर्मचारीले सडकमा रोपिएका विरुवा काटेपछि नेपालगञ्ज उपमहानगरपालिकाले प्रहरी र वनमा जाहेरी दिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय नै नगरी जिल्ला अदालत अगाडिका १६ वटा बयस्क रुख काटिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले जिल्ला प्रहरी कार्यालय, बाँकेमा अपराधिक उपद्रवको जाहेरी दिएको हो । उपमहानगरपालिकाले वन कार्यालयमा पनि उजुरी दिएको छ ।
विद्युत कार्यालयले तार व्यवस्थापनको नाममा नेपालगञ्ज उपमहानगरपालिकाले बडो मेहनत गरेर हुर्काएका रुख ठुटै हुने गरी काटेपछि मेयर प्रशान्त विष्ट आक्रोशित हुँदै विद्युत कर्मचारीविरुद्ध कारबाही प्रक्रियामा गएका हुन् । सार्वजनिक सम्पति तोडफोड र तहसनहस गरिएको विषय भएकाले अपराधिक उपद्रवमा जाहेरी दिइएको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले नेपालगञ्ज उपमहानगरपालिकाले जाहेरी आएको र त्यसबारेमा अनुसन्धान गरिरहेको बताउनुभयो ।
विद्युत कर्मचारीले शनिबार अपरान्ह जिल्ला अदालत अगाडिका १६ वटा रुख ठुटै बनाएर काटेका थिए । रुख काटिएको थाहा पाउने वित्तिकै मेयर विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल घटनास्थलमा पुगेका थिए । नगरलाई सुन्दर, व्यवस्थित र हरियाली बनाउन रोपिएर हुर्काइएका बयस्क रुख काटिएपछि चौतर्फी विरोध भएको छ । विद्युतले तारमा छुन थालेको हाँगा काट्नु पर्नेमा रुखै ठुटै हुने गरी काटिदिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !