सेनाले आवश्यक परे भेरीमा चिकित्सक सहयोग गर्ने


नेपालगञ्ज – सैनिक अस्पताल, नेपालगञ्जका कमाण्डन महासेनानी डा. इन्दु केसीको टोलीले भेरी अस्पतालमा उपचाररत भुकम्पका घाइतेको अवस्था बुझेको छ ।
सैनिक अस्पतालले घाइतेको अवस्था बुझ्ने र अस्पताल प्रशासनलाई आवश्यक परेमा चिकित्सक परिचालन गर्ने तयारी गरेको छ । त्यसका लागि महासेनानी डा. केसीको टोलीले भेरीमा पुगेर अस्पताल प्रशासकसँग छलफल गरेको छ ।
जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पका घाइतेको उपचारका लागि डेडिकेटेड भेरी अस्पतालमा अहिले ३७ जनाको उपचार भइरहेको छ । राती ५ जनाको अप्रेसन गरिएको थियो । एक जना गर्भवतीको पेटमै बच्चाको मृत्यु भएको छ । सबैजसो खतरामुक्त रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । भेरीमा ल्याइएका एक जनाको बाटोमै मृत्यु भएको थियो । एक जना घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उसलाई पनि भेरीमा ल्याउने तयारी गरिएको छ ।
भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका र राप्तीसोनारी गाउँपालिकाले स्वास्थ्यकर्मी पठाएका छन् । नेपालगञ्जले दश जना र राप्तीसोनारीले ५ जना नर्सिङ र प्यारामेडिक्सको टोली भेरीमा पठाएको छ ।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) पवनजंग रायमाझीले अस्पतालमा चिकित्सकको कमी भएकाले पहल गरिरहेको बताए । उनले त्यसका लागि नेपाली सेना र पालिकाहरुसँग कुरा गरिरहेको जानकारी दिए । ‘हामीलाई केही पालिकाले नर्सिङ र प्यारामेडिक्स पठाइदिनु भएको छ । चिकित्सकको आवश्यकता परेको छ । त्यसका लागि पहल गरिरहेका छौं, मेसु रायमाझीले थपे ।
नेपाली सेनाको बज्रदल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठले भेरी अस्पताल प्रशासनले माग गरेमा केही दिनका लागि सैनिक अस्पतालबाट चिकित्सक पठाइने बताए ।


error: यो सुविधा उपलब्ध छैन !