भेरीमा एकको मृत्यु, २७ जना उपचार हुँदै

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा एक जना भुकम्पमा परी घाइते भएका व्यक्तिको मृत्यु भएको छ ।
भुकम्पका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, जाजरकोट नलगाडका ३३ वर्षीय टेकबहादुर पुनको मृत्यु भएको छ । अन्य २७ जनाको उपचार भइरहेको छ । जाजरकोट र पश्चिम रुकुमबाट अहिले धमाधम जहाजमा घाइते ल्याउने काम भइरहेको छ ।
घाइतेको उपचारका लागि भेरी अस्पतालमा बेड र डाक्टर तयारी अवस्थामा राखिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले ५ सय जनालाई उपचार गर्न सकिने गरी व्यवस्थापन गरिएको जानकारी दिए ।
अहिलेसम्म नेपालगञ्ज ल्याएका घाइतेमा भेरी अस्पतालमा उपचार भइरहेको छ । भेरीमा बेड भरिएर राख्ने ठाउँ नभए मेडिकल कलेजमा उपचार गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
यसैबीच, विहान बसेको सुरक्षा समितिको बैठकले राहत संकलन गरेर जाजरकोट र पश्चिम रुकुममा पठाउने निर्णय गरेको छ । त्यसका लागि राँझामा खाद्यान्न संकलन गर्ने र घाइते लिएर आएको जहाजमा पठाइने प्रजिअ पोखरेलले बताए ।
बाँकेका पालिकाले औषधीसहित स्वास्थ्यकर्मी पठाउन शुरु गरेका छन् । खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपक पौडेलको नेतृत्वमा दुई लाखको औषधीसहित स्वास्थ्यकर्मीको टीम जाजरकोट पठाएको छ । अन्य पालिकाले पनि स्वास्थ्यकर्मी र औषधी पठाउने तयारी गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !