नेपाल टी-२० विश्वकपमा छनाैट
नेपालगञ्ज – अन्तत नेपालले ९ वर्षपछि टी-२० विश्वकपमा स्थान बनाएको छ।
शुक्रबार मुलपानी क्रिकेट मैदानमा नेपालले युएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको हो। २०२१ मा युएइले नेपाललाई हराउँदै विश्वकपमा स्थान बनाएको बदला समेत नेपालले लिएको हो।
आगामी वर्ष टी-२० विश्वकप अमेरिका र वेस्टइन्डिजमा हुँदै छ। खेलमा नेपाल समक्ष युएइले १ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य १७.१ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो।
नेपालको जितमा आसिफ शेखले ६३ र रनको अविजित इनिङ खेल्दा उनलाई कप्तान रोहित पौडेलले ३५ रनमा साथ दिए।
त्यसअघि कुशल भुर्तेल ११ रनमा आउट हुँदा गुल्सन झा २२ रनमा आउट भएका थिए।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो।
युएइका लागि वृत्या अरविन्दले ६४ रनको अर्धशतकीय इनिङ खेल्नु सर्वाधिक रह्यो। उनले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै कप्तान मुहम्मद वासीमले २६ रन बनाउँदा अलिशान सरफुले १६ तथा आसिफ खानले १३ रन बनाए।
नेपालका लागि कुशल मल्लले ३ तथा सन्दीप लामिछानेले दुई विकेट लिएका थिए। त्यस्तै सोमपाल कामी र रोहित पौडेलले समान १-१ विकेट लिए।