नेपालगञ्ज कारागारमा रिगल
नेपालगञ्ज – अदालतले रिगल भनिने योगराज ढकाललाई नेपालगञ्ज कारागारमा पठाएको छ ।
राष्ट्रपतिको आममाफी उल्ट्याउने सर्वोच्च अदालतको निर्णयसँगै पक्राउ परेका रिगललाई बाँके प्रहरीले एक दिन राखेर शुक्रबार विहान दश बजे अदालतमा पठाएको थियो । अदालतले रिगललाई नेपालगञ्ज कारागारमा पठाएको छ । सामान्यतः अदालतले नजिकको कारागारमा पठाउने गर्दछ । जेलर अर्जुनजंग शाहले रिगललाई नेपालगञ्ज कारागारमा ल्याइसकेको जानकारी दिए ।
स्रोतका अनुसार, आममाफी पाउनु अघि रिगलको नेपालगञ्ज कारागारमा आउने ठूलो इच्छा थियो । उनले कांग्रेसलगायतका धेरै पार्टीका नेताहरुलाई त्यसका लागि खटाएका थिए । कतिसम्म भने रिगललाई ल्याउनकै लागि नेपालगञ्ज कारागारका एक जना जेलरको सरुवासमेत गरिएको थियो ।
रिगल नेपालगञ्ज कारागारमा आएमा हाल त्यहाँका चौकीदार र नाइके रहेका व्यक्तिसँग टकराव हुने र सुरक्षा चुनौतीमात्रै होइन, झडपको अवस्था आउन सक्ने सुरक्षा आकलन रहदै आएको छ । चेतन मानन्धरकै घटनामा मुछिएकाहरु पनि नेपालगञ्ज कारागारमा छन् । नेपालगञ्ज घर रहेकाले नेपालगञ्ज कारागारमा बस्दा रिगललाई आफ्नो ‘धन्दा’ चलाउन सजिलो हुने एकथरीको विश्लेषण रहेको छ । त्यसका लागि पनि उनी नेपालगञ्ज आउन चाहन्थे ।
सुर्खेतबाट चल्छ नेपालगञ्ज कारागार
नेपालगञ्ज कारागारका जेलर अर्जुनजंग शाहलाई सुर्खेतको बाबियाचौर इलाका प्रशासन कार्यालयमा काजमा पठाइएको छ । तीन दिनदेखि जेलर शाह सुर्खेतमै छन् । सुर्खेतमै बसेर शाहले नेपालगञ्ज कारागार चलाइरहेका छन् ।
जेलजस्तो संवेदनशील ठाउँलाई जेलरविहीन बनाइएको छ । जेलर नभएको जेलमा रिगललाई पठाइएको छ । जहाँ रिगललाई ल्याउने र नल्याउने बन्दीकै बीचमा फाटो रहेको सम्बद्धहरु बताउँछन् । जेलर शाहलाई यही २४ गतेसम्म बाबियाचौर पठाइएको छ । उनले कसैलाई निमित्त दिएका छैनन् । बाँकेका प्रमुख जिल्ला अधिकारीले सुब्बा नयनबहादुर कार्कीलाई निमित्त भएर काम गर्न मौखिक आदेश दिएका छन् ।
तीन सय जना बन्दी क्षमताको कारागारमा दोब्बर बढी बन्दी छन् । यो कारागारमा लागु औषध, कर्तब्य ज्यानका बन्दी बढी रहेका छन् ।