डेढ सय वर्षदेखि निरन्तर रामलिला


नेपालगञ्ज – नेपालगञ्जमा रामलिला मञ्चन संस्कृतिको रुपमा स्थापित भएको छ । घटस्थापनामा शुरु भई टीकाको भोलीपल्टसम्म चल्ने रामलिला एक सय ५६ वर्षदेखि निरन्तर चलिरहेको छ ।
रामलिला मञ्चनकै लागि शहरको बीचमा रामलिला मैदान संरक्षित रहेको छ । त्यही रामलिला मैदानमा यतिबेला भारतको बृन्दावनबाट कलाकार ल्याएर रामलिला मञ्चन भइरहेको छ । खाना खाएर रातीमा रामलिला हेर्न जाने यहाँको संस्कृति बनेको छ । राती साढे ८ बजेदेखि ११ बजेसम्म रामलिला मञ्चन भइरहेको छ ।


रामलिला सञ्चालक समितिका प्रवन्धक भरतकिशोर बैश्यले १५६ औं संस्करणमा रामलिला मञ्चन भइरहेको बताउनुभयो । रामलिलाका लागि भारतबाट ३५ जना कलाकार ल्याइएको छ । सञ्चालक समितिले कलाकारका लागि मात्रै ४ लाखबढी खर्च गरेको छ । रामलिला सञ्चालनका लागि अनुमानित १८ लाख खर्च निकालिएको छ । त्यसमा नेपालगञ्ज उपमहानगरपालिकाले ७१ हजार रुपैया दिएको छ । अरु संघ संस्था, व्यक्तिबाट सहयोग संकलन गर्ने क्रम चलिरहेको छ ।
सञ्चालक समितिका प्रवन्धक बैश्यले सबैको साथ र सहयोगमा रामलिला निरन्तर चलिरहेको बताउनुभयो । रामलिलाले गर्दा यतिबेला रामलिला मैदान झिलिमिली रहेको छ । त्यहाँ एक प्रकारको बजार नै लाग्ने गरेको छ । रामलिलाको पाठक सुन्दै उज्यालो झिलिमिलीमा भक्तजनहरु रमाउने गरेका छन् ।


विगतमा भगवानको पाठसँगै मनोरञ्जनका लागि शुरुवात गरिएको रामलिला यहाँको संस्कृति बनेको हो । अहिले मनोरञ्जनका प्रशस्त साधन भएपनि स्थानीय रामलिलामा झुम्ने गरेका छन् । खाना खाएर डेढ दुई घण्टा संगीतमय भगवानको पाठ सुन्ने स्थानीय बढिरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !