दशैं बोकेर आउनेको लर्को


नेपालगञ्ज – नेपालगञ्जमा यतिबेला भारतबाट फर्किनेको लर्को देखिने गरेको छ । कामका सिलसिलामा भारतका विभिन्न शहरमा पुगेका नेपाली बडादशैं मान्न घर फर्किरहदा नेपालगञ्ज बजारसम्म ताँती देखिने गरेको हो ।
नाकाबाट नेपालगञ्ज आउने अटोरिक्सामा दशैं मान्न आउने नेपाली खचाखच भरिएको देखिन्छ । दशैं बोकेर फर्किएका नेपालीलाई घर पुग्न हतारो प्रष्ट देख्न सकिन्छ । झोला र बोरामा सामान बोकेका उनीहरु घर पुग्दा परिवारको दशैं भित्रिने सहजै अनुमान लगाउन सकिन्छ ।
मौसमी कामका लागि भारतको कालापहाड, सिमला, प्रयाग, कारगिललगायतका ठाउँमा पुगेका नेपाली कामको बोझलाई थाती राखेर हर्षोल्लाससँग चाडबाड मनाउन घर फर्किएका हुन् । सल्यानका रमेश विकले अरुबेला जस्तो पीडा र दुख भएपनि दशैंमा घरपरिवारसँगै रमाउन फर्किएको बताउनुभयो । नेपालीले भारतीय धार्मिकस्थलहरुमा तीर्थालुलाई बोक्नेदेखि कारगिलको बम बारुदका बीचमा काम गरेर धेरथोर कमाई गर्छन् । त्यो कमाईलाई सुरक्षित तरिकाले घरपरिवारसमक्ष पुर्‍याउन उनीहरुलाई धेरै सास्ती हुने गर्दछ । बाटोमा अनेक झन्झट र पैसा चोरी हुने डर हुन्छ । आफन्तीजस्तै बनेर लुट्नेहरु पाइला-पाइलामा भेटिन्छन् । नेपालगञ्ज नाकामा यसपाली नेपाली लुटिएको समाचार आएको छैन ।
नेपालगञ्ज नाकाबाट यतिबेला दैनिक पाँच हजार बढी नेपाली दशैं मान्न घर फर्किरहेका छन् । सीमावर्ती किनमेल गर्न जानेको त यहाँ हिसाव नै छैन । सीमापारी किनमेल गर्न जाने र दशैं मान्न घर फर्किएका नेपालीले गर्दा नेपालगञ्ज नाकामा भीड बढेको छ ।
नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज मिनबहादुर विष्टले विहान ६ देखि ११ बजेसम्ममै ४ हजार मानिस भित्रिरहेको बताउनुभयो । उहाँका अनुसार, दिनभरीमा पाँच हजार मानि दशैं मनाउन आइरहेका छन् ।
दशैंमा घर फर्किने मानिसलाई समस्या र अप्ठेरो नहोस् भनेर नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । कक्षमा साना तिना गुनासो आइरहेका छन् । दशैं मान्न फर्किनेहरु प्रायः दैलेख, जाजरकोट, रुकुम, रोल्पा, सल्यान, प्यूठानका रहेकाले उनीहरुलाई नेपालगञ्जका होटल सञ्चालकले नाकामै पुगेर आफ्नो होटलमा ल्याउने प्रयास गरेको देख्न सकिन्छ । अटो रिक्साले पनि तान्ने गर्दछन् । बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले घर फर्किएका नेपालीको झोला एकातिर र मान्छे एकातिर भएको अवस्थामा तान्ने व्यक्तिलाई समातेर मुद्दा चलाउन आदेश दिएको बताउनुभयो । ‘यात्रु सहायता कक्षमा प्रहरी तैनाथ छ । झोला तान्ने, प्रभावित पार्न खोज्नेलाई तत्काल समातेर मुद्दा चलाइ हाल्न निर्देशन दिएका छौं, डीएसपी डाँगीले भन्नुभयो, अहिलेसम्म मुद्दा चलाउनु परेको छैन ।’
यतिबेला घर फर्किएका नेपाली धेरैजसो बर्खामा धानबाली लगाएर गएका छन् । केही अलि धेरै बसेर फर्किएका छन् । यो नाकाबाट भारत जाने नेपाली प्रायः जसो खेती लगाउन र चाडबाडमा घर फर्किने र अरु बेला काममा जाने गर्दछन् । घर खेतबारीको उत्पादनले वर्षभरी खान नपुग्नेहरु मौसमी कामका लागि भारत जाने गर्दछन् ।


error: यो सुविधा उपलब्ध छैन !