गहना लगाएर एक्लै नहिड्न प्रहरीकाे अनुराेध

नेपालगञ्ज – बाँके प्रहरीले चाडबाड लक्षित जनहितमा जारी सन्देशमा अनावश्यक गहनाको प्रदर्शन नगर्न र गहना लगाएर एक्लै नहिड्न अनुरोध गरेको छ ।
बाँके प्रहरीको १२ बुँदे अनुरोधको एउटा बुँदामा भनिएको छ, ‘चाड पर्वको अवसरमा अनावश्यक गरगहनाको प्रदर्शन नगरौं र गहना लगाएर एक्लै हिड्डुल नगरौं ।’ भीडभाडमा गहना चोरी हुन सक्नेतर्फ प्रहरीले सचेत गराएको छ । त्यसो त नेपालगञ्जमा गहना लगाएर हिडेको व्यक्तिलाई पछाडीबाट आएर लुटेराले गहना थुतेर भाग्ने घटना पनि भइरहेका छन् ।
प्रहरीले चाडबाडमा लामो समयसम्म घर छोड्नु परेमा छिमेकी वा नजिकैको प्रहरीलाई अनिवार्य जानकारी गराउन अनुरोध गरेको छ । दशैंमा मान्यजनसँग टीका लगाउन घर खाली गरेर जादा चोरी हुने संभावना हुने गर्दछ । हरेक पटकको दशैंमा घरपरिवार टीका लगाउन जादा घरको झ्याल–ढोका फोरेर लुटिएको घटना आउने गर्दछ । हानी भइसकेपछि पछुताउनु भन्दा पहिले नै सचेत हुन प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीले यात्रा गर्दा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान सचेत गराएको छ । नेपालभित्रै यात्रा गर्दा भन्दा पनि भारतबाट फर्किने नेपाली बढी यो समस्याबाट पीडित बन्ने गरेको पाइन्छ । बस या टे«नमा यात्रा गर्दा घर सोध्ने र आफू पनि त्यही आसपासको जिल्लावासी बताएर विश्वासमा पारेर पायक पर्दा नशालु पदार्थ मिसाएर खानेकुरा खुवाई लुट्ने गरेको पाइन्छ । आफूले लाखौं बोकेर आएका नेपाली केहीबेर अघि परिचय भएका व्यक्तिले दिएको चिसो पेय पदार्थ वा विस्कुट खादा लुटिएका घटना विगतका धेरै छन् । अहिले पनि दशैं नजिकिदै गर्दा भारतमा काम गरेर फर्किने नेपालीको संख्या बढ्दो छ । विशेष गरेर यी नेपालीलाई लक्षित गरेर नाकामा प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । पहाडी जिल्लाका नेपालीलाई नेपालगञ्जका होटल सञ्चालक, रिक्सा र गाडी कर्मचारीले नाकामै पुगेर जबरजस्ती तानेर हाल्ने र ठग्ने गरेको पाइन्छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले दशैंमा घर फर्किरहेका नेपालीलाई नाकामा तान्ने र अनावश्यक दुःख दिनेलाई तत्काल कारबाही गरिने बताउनुभयो । प्रहरी प्रवक्ता डाँगीले सीमामा नेपालीलाई लुटिन र अनावश्यक झन्झट नहोस् भनेर सादा पोशाकमा प्रहरी परिचालन गरेको जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरी सवारी नचलाउन, यात्राका क्रममा कुनै समस्या आएमा, घर, टोलमा शंकास्पद बस्तु फेला परेमा, जुवातास खेलेको देखेमा प्रहरीलाई खबर गर्न भनिएको छ । प्रहरीले धार्मिक तथा सामाजिक सद्भाव खलल पु¥याउने कुनै किसिमको गतिविधि नगर्न अनुरोध गरेको छ । त्यसो त सामाजिक सञ्जालमा लेखिएको एउटा स्टाटस र त्यसको जवाफमा लेखिएको कमेन्टले गर्दा एकाएक बनेको नेपालगञ्ज भर्खरै शान्त भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !