मन्त्रीलाई ११ बुंदे ज्ञापन पत्र

नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीका समस्या समाधानका लागि संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ११ बुँदे ज्ञापनपत्र बुझाएकोे छ ।
मन्त्री रिजाल बाँकेमा आउनु भएको अवसरमा बिहीबार नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर संघका नवनिर्वाचित अध्यक्ष टंक बहादुर धामीले ज्ञापनपत्र बुझाउनु भएको हो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अब्दुल वाहिद मन्सुरी, संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, कार्यसमिति तथा पूर्व पदाधिकारी तथा सदस्यकाे उपस्थिति रहेको थियोे ।
संघका अध्यक्ष धामीले मन्त्री रिजाललाई हस्तान्तरण गरेको ज्ञापन पत्रमा जमुनाहा नाकाबाट अवैध रुपमा करोडौंको सामान भित्रिँदा स्वदेशी उद्योगी व्यवसायी मारमा परेकाले सीमा नाका व्यवस्थित गर्नुपर्ने र आयातमा रहेको अव्यवहारिक भन्सार नीति सच्चाउनुपर्ने माग गरेको छ । पटक-पटक विद्युत जादा औद्योगिक प्रतिष्ठानका उत्पादन बिग्रेर खेर जाने र मेसिनरी सामानहरु बिग्रने समस्या धेरै भएकाले उद्योगहरुमा नियमित रुपमा सहज आपूर्ति गर्न ब्यवस्था गर्न र  उत्पादनमूलक उद्योगलाई सहुलियत दरको बैंक ब्याज उपलब्ध गराउन माग गरेको छ । त्यसैगरी शिलान्यास गरिएको नौबस्ता औद्योगिक क्षेत्रमा तत्काल काम सुरु गर्नुपर्ने, नेपालगञ्जमा निर्माणाधीन एकीकृत भन्सार जाँचचौकी (आइसीपी)को काम सम्पन्न गरी सञ्चालन गर्नुपर्ने रहेको छ । उद्योगी व्यवसायीलाई सहजताका लागि नेपालगञ्जमा कम्पनी रजिष्टारको कार्यालय खोल्नुपर्ने, उद्योगी–व्यवसायीमैत्री नीति बनाएर पर्यटन उद्योगलाई प्रबद्र्धन गर्नुपर्ने, बाँकेमा जडिबुटीमा आधारित औषधि उद्योग सञ्चालनको वातावरण बनाउनुपर्ने र जडिबुटी निर्यातको समस्या समाधान गर्न नेपाल र भारतका सरकार स्तरमा संवाद गर्नुपर्ने माग रहेका छन् । संघका निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सरकारले उद्योगी व्यवसायीलाई संंरक्षणमुखी नीति लिन सुुझाव दिनु भएको थियो ।
ज्ञापन पत्र बुझिसकेपछि मन्त्री रिजालले निराश नहुन आग्रह गर्दै उद्योगी व्यवसायीलाई धेरै सेवा सुविधा दिने गरी सरकारले काम गर्न लागेको बताउनु भएको थियो । उहाँले नौबस्ता औैद्योगिक क्षेत्रमा न्यूनतम् चार्ज लिने गरी उद्योगीहरुलाई सहुलियत दिने र सञ्चालनका लागि पहल गर्न मन्त्रालयका सचिवलाई सरोकारवालासँग छलफल गर्न आग्रह गर्नुभयोे ।
सो अवसरमा संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले उद्योगीका समस्या, जडिबुटी व्यवसायी रविन्द्रनाथ शुक्लाले जडिबुटी व्यवसायीले भोगिरहेका दुःख, अक्सिजन ग्यास व्यवसायी राजिव तलंगाले कोरोनाकाल भरी सेवा दिएका अक्सिजन उद्योग धराशायी हुने गरी भारतबाट आयात गर्नुपर्ने लिक्विड अक्सिजन ग्यासमा राज्यले प्रोत्साहन गर्नु दुःखद भएको र संघका सदस्य बुद्धिबहादुर विकेले सुनचाँदी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न मन्त्री रिजाललाई ध्यानाकर्षण गरेका थिए ।

error: यो सुविधा उपलब्ध छैन !