उपाध्यक्षको हस्ताक्षर किर्ते गरी साढे सात लाख झ्वाम !

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका मिलेमतोमा उपाध्यक्ष रामप्यारी यादवको किर्ते दस्तखत गरी सात लाख ४९ हजार चार सय तीन रुपैयाँ ८५ पैसाको बिल भुक्तानी लिन थालेको रहस्य खुलेको छ ।

जानकी गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक रामप्यारी यादवले आफ्नो किर्ते दस्तखत गरी भ्रष्टाचार गर्न थालेको आधार प्रमाणसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा कारबाहीका लागि निवेदन दिएकी छन् ।

उपाध्यक्ष यादवले प्रहरीले आफ्नो निवेदनसहितको फाइल राखेको तीन दिन बित्दा पनि दर्ता गरी छानबिन गर्नुपर्नेमा उल्टो किर्ते गरी भ्रष्टाचार गर्नेहरुलाई ढाकछोप गरेको दाबी गरिन् । ‘किर्ते दस्तखत गरेर बजेट पास गर्न खोजेका थिए । लेखाबाट फाइल तानेर राखेकी छु,’ उनले भनिन् ।

गाउँपालिकाको गेट निर्माण गर्ने योजना दीपक बिल्डर्सले पाएको थियो । पालिकाले त्यसका लागि सात लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । तर निर्माणको अनुगमन गर्नुपर्ने समिति संयोजकलाई थाहै नदिइ असार १५ गते अनुगमन समितिको प्रतिवेदन पेस गरेर भुक्तानी लिन थालेपछि किर्ते गरी भ्रष्टाचार गर्न थालेको रहस्य खुलेको थियो ।

संयोजकको किर्ते दस्तखत गरिएको प्रतिवेदनमा पूर्वाधार संयोजक तथा सदस्य टीकानाथ यादव, कार्यपालिका सदस्य कान्ती कादु, प्राविधिक शाखा प्रमुख धनबहादुर रोकाय र योजना शाखा प्रमुख तथा सदस्य सचिव शोभा पौडेलको दस्तखत छ । प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने दस्तखत गरेका छैनन् ।

उपाध्यक्ष यादवले प्रहरीले समेत भ्रष्टाचारीलाई जोगाउन खोजेको आरोप लगाएकी छन् । ‘जिल्ला प्रहरी कार्यालयका प्रमुखले त कुनै चासो दिएनन् । म दुई दिन धाइसकें । स्थानीय सरकारको जनप्रतिनिधिलाई त प्रहरीले यसरी झुलाउँछ । अरु सामान्य जनतालाई के वास्ता गर्ला ?’ उनले भनिन् ।

तर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले उनीहरुले भने जस्तो नहुने तर आफ्नै ढंगले कारबाही गर्ने प्रतिक्रिया दिए । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले गाउँपालिकामै पुगेर किर्ते गरी रकम भुक्तानी लिन खोज्ने भ्रष्टहरुमाथि कारबाही गर्न निर्देशन दिएको पालिकाका कर्मचारीले जनाएका छन् । (कान्तिपुरबाट)


error: यो सुविधा उपलब्ध छैन !