निशुल्क शिविरमा ६ सय लाभान्वित

नेपालगञ्ज – नेपाली सेनाको बज्रदल गण र खजुरा गाउँपालिकाको संयुक्त आयोजनामा बाँकेको सोनपुरमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
विभिन्न रोगको विशेषज्ञ सेवा दिइएको स्वास्थ्य शिविरमा ६ सय जना लाभान्वित भएका छन् । ४ सय २७ जना महिला र एक सय ७३ जना पुरुषले विभिन्न सेवा लिएका छन् ।


सोनपुर स्वास्थ्य चौकीमा आयोजित शिविरमा बालरोग, स्त्रीरोग, फिजिसियन, दन्त रोग, छाला रोग र प्रयोगशाला जाँच गरिएको थियो ।
शिविर आयोजना हुँदा पानी परेपनि स्थानीयले घर आँगनमै आएको विशेषज्ञ सेवा लिएका हुन् । निशुल्क स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम नाम दिइएको शिविरको खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्ल र बज्रदल गण, इमामनगर ब्यारेक राँझाका गणपति श्याम आत्रेय पौडेलले उद्घाटन गर्नु भएको थियो ।


उपाध्यक्ष मल्लले स्थानीयवासीको समस्यालाई ध्यानमा राखेर घर आँगनमै विशेषज्ञ सेवा उपलब्ध गराएको बताउनुभयो ।
बज्रदल गणका गणपति पौडेलले सैनिक नागरिक सम्बन्धलाई बढाउनका लागि गाउँपालिकासँग सहकार्य गरेर निशुल्क शिविर सञ्चालन गरेको बताउनुभयो । नेपाली सेनाले विभिन्न निकायसँग सहकार्य गरेर यसप्रकारको सेवा दिदै आएको छ ।


निशुल्क स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रमलाई सैनिक अस्पताल नेपालगञ्ज, नेपालगञ्ज मेडिकल कलेज, एचसीआरसी, शाही डेन्टल अस्पतालले सहयोग गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !